
बाढीबाट भएको जनधनको क्षतिप्रति होटल संघ पोखराद्वारा दुःख व्यक्त
पोखरा, ११ भदौ /नेपाल–चीन सीमावर्ती क्षेत्रबाट बुधबार बिहान भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति होटल संघ पोखरा नेपालले गहिरो दुःख व्यक्त गरेको छ।
संघले विज्ञप्ति जारी गर्दै बाढीका कारण सयौंको ज्यान गएको, हजारौं बेपत्ता भएको तथा ठूलो भौतिक क्षति भएको घटनाले आफूहरू स्तब्ध भएको जनाएको छ।
घटनामा परी ज्यान गुमाउनेहरूप्रति संघले श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुबेदीले विज्ञप्ती जारी गरेका छन् ।
घाइतेहरूको तत्काल उद्धार गरी समयमै उपचारको व्यवस्था गर्न संघले नेपाल सरकारसँग जोडदार माग गरेको छ। साथै, पीडितहरूको उचित बसोबास तथा क्षतिपूर्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउँदै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
अझै हजारौं व्यक्ति बेपत्ता रहेको खबरप्रति चिन्ता व्यक्त गर्दै संघले उनीहरूको तत्काल खोजी तथा उद्धारलाई तीव्रता दिन सरकारसँग आग्रह गरेको छ। बाढीका कारण देश तथा विदेशका सयौं पर्यटकसमेत प्रभावित भएको खबरप्रति गम्भीर बन्न संघले सरकारलाई आग्रह गरेको छ।
सरकारको आह्वानअनुसार विपद् प्रभावितहरूको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा जारी गरिएको क्यूआर कोडमार्फत् सक्दो सहयोग गर्न संघले उद्योगी–व्यवसायी तथा सर्वसाधारणलाई अपिल गरेको छ।
संघले सम्भावित थप बाढी तथा विपद्का घटनाप्रति चनाखो रहन र सूचनाको समयमै आदानप्रदान गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ।
बाढीबाट खर्बौं रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रारम्भिक अनुमान सार्वजनिक भइरहेका बेला राहत तथा उद्धारसँगै पुनर्निर्माणको कामलाई पनि सँगसँगै अघि बढाउन सरकारसँग होटल संघ पोखरा नेपालले माग गरेको छ।





