
केपी ओली टी २० को उपाधि गण्डकी हिरोजलाई, दिपेन्द्र रावत म्यान अफ दि टुर्नामेन्ट
पोखरा, ५ बैशाख/ गण्डकी हिरोजले दोस्रो संस्करणको केपी ओली कप टी–२० राष्ट्रिय खुल्ला पुुरुष क्लब स्तरीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशालामा भएको फाइनलमा सिइसी काठमाडौंलाई ५ विकेटले हराउँदै च्याम्पियन बनेको हो । च्याम्पियन गण्डकीले दश लाख रुपैयाँ प्राप्त गर्दा उपविजेता काठमाडौंले पाँच लाख रुपैयाँ प्राप्त गरेको छ ।
१८३ रनको विजयी लक्ष्य पाएको गण्डकीले १७.३ ओभरमा ५ विकेट गुमाउँदै १८५ रन बनायो । काठमाडौंका लागि दिपेन्द्र रावतले ३ विकेट लिदाँ मनोज यादव र सुुर्य तामाङले १–१ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ थालेको काठमाडौंले १९.४ ओभरमा १८२ रन बनाउँदै अलआउट हुन पुुग्यो । गण्डकीका लागि अमृत गुरुङ र कृष्ढा पौडेलले समान ३/३ विकेट लिए भने विपिन खत्री र मिलन बोहोराले २/२ विकेट लिए । गण्डकी हिरोजका किरण ठगुुना प्लेयरअफ दी म्याच घोषित भए ।
यस्तै काठमाडौंका दिपेन्द्र रावत प्लेयर अफ दी टुर्नामेन्ट घोषित भए । उनले ३० हजार रुपैयाँ प्राप्त गरे । उत्कृष्ट ब्याटर अत्तरियाका विपिन रावल र उत्कृष्ट बलर लुुम्बिनीका अजय कुमार चौहान घोषित हुँदै समान २०/२० हजार रुपैयाँ प्राप्त गरे ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले विजयी खेलाडीलाई पुरस्कार वितरण गरे । उनले खेलकुदको विकासका लागि आफुले संसदमा आवश्यक पहल गर्ने बताए । चैत २३ गतेबाट सुरुभएको प्रतियोगितामा कुल १६ टिमको सहभागिता थियो । बागमतिबाट ४ र अन्य प्रदेशबाट २/२ वटा क्लबको सहभागिता रहेको थियो ।





