
केपी ओली कप क्रिकेटः गण्डकी हिरोज र हिमालयनको जित
पोखरा, २७ चैत/ पोखरामा जारी केपी ओली कप टी २० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा गण्डकी हिरोज र हिमालयन क्रिकेट एकेडेमीले जित हासिल गरेका छन् । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशालामा भएको प्रतियोगितामा गण्डकी हिरोजले ग्रेट हिमालयलाई १० विकेटले हराएको छ ।
१०३ रनको विजयी लक्ष्य पाएको गण्डकी हिरोजले १२ ओभरमा विना विकेटको क्षतिमा १०६ रन बनायो । ओपनर साकिब हकले ५३ रनको अविजित अर्धशतकीय पारि खेले । टस हारेर ब्याटिङको निम्तो पाएको ग्रेट हिमालय क्रिकेट एकेडेमीले १८.४ ओभरमा १०२ रन बनाउँदै अल आउट भएको थियो ।
गण्डकीका लागि कृष्ण पौडेलले ४ ओभरमा २५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । अमृत गुरुङले ४ ओभरमा १ मेडनसहित १८ रन खर्चेर ३ तथा नारायण जोशीले ३.४ ओभरमा १ मेडनसहित १४ रन खर्चेर २ विकेट लिए । सुदिप अर्यालले १ विकेट लिए । गण्डकीको यो दोस्रो जित हो । यस अघि गण्डकीले चितवनलाई ४ विकेटले हराएको थियो । यस अघि हिमालयन क्रिकेट एकेडेमीसंग २ विकेटको हार व्यहोरेको थियो ।
अर्को खेलमा हिमालयन क्रिकेट एकेडेमीले ६ विकेटको जित हात पारेको छ । ११९ रनको विजयी लक्ष्य पछ्याएको हिमालयनले १२.४ ओभरमा ४ विकेट गुमाउँदै ११९ रन बनायो । हिमालयनको जितमा दिपक बोहोराले ८० रनको अविजित उत्कृष्ट पारी खेले । चितवनका लागि दिपेश श्रेष्ठले २ तथा किरण गुरुङ र विशाल खत्रीले १÷१ विकेट लिए ।
टस हारेर ब्याटिङको निम्तो पाएको चितवन क्रिकेट क्लब १८.१ ओभरमा ११८ रनमा अलआउट हुन पुग्यो । हिमालयनका लागि प्रकाश जैशीले ४ ओभरमा ११ रन खर्चेर सर्वाधिक ४ विकेट लिए ।
उनी खेलको प्लेयर अफ दी म्याच घोषित भए । दिपक चन्दले ३ तथा प्रतिश जिसी र दिपक बोहोरा ‘बि’ ले १/१ विकेट लिए । समूह ‘बि’ मा गण्डकी हिरोज र हिमालयनको समान ४–४ अंक रहेको छ । सेमीफाइनल प्रवेशका लागि बिहीबार दुई टिम भिड्ने छन् भने चितवन र ग्रेट हिमालयनको भने अन्तिम चारको सम्भावना सकिएको छ ।