पोखराको सराङकोटमा श्रीमद्भागवत ज्ञान महायज्ञ र धार्मिक पर्यटन महोत्सव हुने

-


     क्लिक गण्डकी     
     माघ २९ गते २०८१ मा प्रकाशित


पोखराको सराङकोटमा श्रीमद्भागवत ज्ञान महायज्ञ र धार्मिक पर्यटन महोत्सव हुने

पोखराको सराङकोटमा श्रीमद्भागवत ज्ञान महायज्ञ र धार्मिक पर्यटन महोत्सव हुने

पोखरा, २९ माघ/ पोखराको सराङकोट धाममा विकास गरी यसपटक विशेष धार्मिक र पर्यटन गतिविधिको केन्द्र बन्ने भएको छ । फाल्गुन १४ गते (महाशिवरात्रि पर्व) देखि फाल्गुन २१ गते सम्म श्रीमद्भागवत ज्ञान महायज्ञ एवम् धार्मिक पर्यटन महोत्सव हुन लागेको मुल आयोजक समितिका अध्यक्ष प्रेम बहादुर जिसिले बताए ।

सराङकोट धार्मिक पर्यटन क्षेत्र विकास समितिको नेतृत्वमा २०६१ देखि वृहत गुरुयोजना मार्फत शिवमन्दिर, भ्यूटावर, १०८ शिव लिङ्ग, १०८ धारा, भुमे कालिका, गणेश मन्दिर, बहुउद्देशिय भवन कार्य सम्पन्न गरिएको र सोही दिन उद्घाटन गरिने छ ।

यो महाउत्सवलाई पोखरा भ्रमण वर्षको रुपमा पोखराको ऐतिहासिक, धार्मिक, र पर्यटकीय महत्त्वलाई उजागर गर्दै, सराङकोटलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउने ठूलो अवसरका रूपमा रहेको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले बताए ।

महाशिवरात्रि जस्तो पवित्र दिनदेखि आरम्भ हुने यो महायज्ञले धार्मिक अनुयायीहरूको ध्यान तान्ने मात्र होइन, महादेवप्रति भक्तिभाव व्यक्त गर्ने एउटा अनुपम अवसर पनि प्रदान गर्नेछ । यस अवसरमा भागवत ज्ञानको गहिरो अर्थ र शिक्षालाई समाजमा प्रवाह गर्दै धार्मिक एकता र शान्तिको सन्देश फैलाउने अपेक्षा रहेको महायज्ञका प्रमुख वाचक भागवत् भाष्कर पण्डित कमलनयन गौतमले बताए ।

सराङकोट, जो पोखराको प्रसिद्ध पर्यटकीय गन्तव्य हो, प्राकृतिक सौन्दर्य र हिमालको सुन्दर दृश्यावलोकनका लागि लोकप्रिय छ । यो महायज्ञले धार्मिकता र पर्यटनको सम्मिश्रण गर्दै सराङकोटलाई अझ बढी लोकप्रिय बनाउने अपेक्षा गरिएको पोखरा महानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष शिव प्रसाद तिमिल्सिनाले बताए ।

यो महायज्ञले स्थानीय उत्पादन र व्यवसाय प्रवद्र्धन गर्न सहयोग पु¥याउनेछ। धार्मिक र पर्यटकहरूको आगमनले स्थानिय अर्थतन्त्रमा सकारात्मक प्रभावका लागि स्थापित अन्नपूर्ण केबुलकार मार्फत निर्माण अन्तिम तयारीमा रहेको नेपालकै पहिलो पञ्पमुखी गणेश मुर्तीले पोखरामा धार्मिक पर्यटकको आगमन बढ्ने अन्नपूर्ण केबुलकारका महाप्रवन्धक दिनेश पौडेलले बताए ।

धार्मिक आस्था, पर्यटन प्रेम, र सांस्कृतिक महत्त्वलाई आत्मसाथ गर्दै फाल्गुन १४ देखि २१ सम्म सम्पन्न हुने धार्मिक पर्यटन महोत्सव सम्पन्नका लागि एक हजार एक सय ११ सदस्य मुल आयोजक समिति र ११ वटा विभिन्न समिति मार्फत स्थानिय संघ संस्था, विभिन्न समुहहरुलाई समेटी महाउत्सव तयारी सुरु गरिएको प्रचार प्रसार संयोजक कृष्ण थापाले बताए ।



Tags: