प्रदेशले स्वीकृति दिनासाथ दमौली अस्पताललाई ५० शैय्याको बताउनेः मन्त्री पौडेल

-


     क्लिक गण्डकी     
     भाद्र ४ गते २०८१ मा प्रकाशित


प्रदेशले स्वीकृति दिनासाथ दमौली अस्पताललाई ५० शैय्याको बताउनेः मन्त्री पौडेल

प्रदेशले स्वीकृति दिनासाथ दमौली अस्पताललाई ५० शैय्याको बताउनेः मन्त्री पौडेल

पोखरा, ५ भदौ स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रदेशबाट जग्गाप्राप्तिका लागि स्वीकृति आउनासाथ दमौली अस्पताललाई ५० शैय्याको बनाउने काम अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।

गत साता अस्पतालको निरिक्षण गरिसकेका मन्त्री पौडेलले कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पतालका नाममा रहेको साढे ३ रोपनी जग्गा अस्पताललाई उपभोग गर्न दिन प्रदेशबाट स्वीकृति पाएलगत्तै मन्त्रिपरिषदमा प्रस्ताव लगेर जग्गा दिलाउने बताए ।

दमौली अस्पतालको क्षमता विस्तार नहुँदा परेको समस्याबारे म जानकार छु, मन्त्री पौडेलले भने, प्रदेशबाट स्वीकृति आउनासाथ विस्तारको काम अघि बढ्नेछ ।

मन्त्री पौडेललाई अस्पतालको क्षमता विस्तार गरेर ५० शैय्या पुर्याउने काममा सघाइदिन संविधान सभासद रामचन्द्र पोखरेल र जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले अनुरोध गरेका थिए ।

१५ शैय्या क्षमता भए पनि बेड थप गरेर चलेको अस्पताललाई ५० शैय्यामा परिणत गर्न जग्गा अभाव देखिंदै आएको छ । विगतमा धेरै पटक विस्तारको कुरा चले पनि अघि बढ्न सकेको थिएन । अस्पतालसँग हाल १५ रोपनी जग्गा छ ।

तर कृषि ज्ञान केन्द्रको २ रोपनी र भेटेरिनरी अस्पतालको डेढ रोपनी जग्गा अस्पतालका नाममा प्राप्त भएमा विस्तार गर्न सकिने प्राविधिक समितिले प्रतिवेदन दिएको छ । सोही जग्गा प्रदान गर्न कृषि तथा पशुपंक्षी मन्त्रालयले स्वीकृति दिए पनि प्रदेश र संघीय मन्त्रिपरिषदमा यससम्बन्धी प्रस्ताव गएको छैन ।

मन्त्रिपरिषदबाट अस्पताललाई जग्गा प्राप्तिको निर्णय गराउन पहल गर्ने बताएका मन्त्री पौडेलले जनशक्ति र पूर्वाधारका लागि यसै वर्ष काम थाल्ने प्रतिबद्धता जनाए ।

७२ किलोमिटर लामो पृथ्वी राजमार्गको बीच भागमा रहेको दमौलीमा रहेको अस्पतालको क्षमता नहुँदा ठूला दुर्घटनाका बिरामी र शल्यक्रिया तथा आकस्मिक अवस्थाका बिरामी पोखराका अस्पताल जानुपर्ने बाध्यता छ ।

यो समस्यालाई आफूले बुझेको बताएका मन्त्री पौडेलले तनहुँको स्वास्थ्य क्षेत्रमा गर्न सकिने अरु कामका लागि पनि तयार रहने प्रतिबद्धता जनाएका छन् ।