श्रीपती समाजसेवा २ लाख २२ हजारको पुरस्कार सन्दुक रुईतलाई प्रदान गरिने
पोखरा, २७ असार/ श्रीपती समाज सेवा पुरस्कारबाट यस वर्ष समाजसेवी डा. सन्दुक रुईतलाई प्रदान गरिने भएको छ । पोखराको श्रीपती कोइराला गुठीद्वारा सञ्चालित श्रीपती समाज सेवा पुरस्कार–२०८१ बाट दृष्टिका देवता भनेर चिनिने म्यागासेसे पुरस्कार बिजेता डा.सन्दुक रुईतलाई पुरस्कृत गर्ने आयोजकले विहीबार पत्रकार सम्मेलन गरेर घोषणा गरेको हो ।
पुरस्कारको राशी नगद २ लाख २२ हजार २ सय २२ रुपैयाँ सहित सम्मान पत्र र पदक रहेको गुठीका अध्यक्ष फणिन्द्रराज कोइरालाले जानकारी दिए । श्रीपति कोइराला गुठीले २१७ औं जयन्तीको अवसर पारेर पुरस्कार घोषणा गरेको हो । पुरस्कार गुठीको ३२ औं वार्षिक साधारणसभामा प्रदान गरिने अध्यक्ष कोईरालाले बताए ।
पीता सोनाम रुईत र माता केसाङ रुईतको कोखबाट २०११ सालमा जन्मिएका डा.रुईत विश्वभर दृष्टिका देवता (गड अफ साईट) का रुपमा चिनिन्छन् । कम लागतमा मोतियाविन्दुको उपचारका लागि विश्वविख्यात चिकित्सा पद्धती रुईतेक्तोमिताका शुरुवात कर्ता उनले हालसम्म १ लाख ३० हजार भन्दा बढी मोतियाविन्दुको शल्यकृया गरेर दृष्टि फर्काईसकेका छन् ।
बहराईन सरकारबाट दृष्टिका सम्वाहक उपाधिसहित ईशा अवार्ड पाएका डा. रुईतले प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार, भारतको पद्मश्री पुरस्कार, फिलिपिन्सको रोमन म्यागासेसे पुरस्कार, थाईल्याण्ड, भुटानलगायतका पुरस्कार पाइसकेका छन् । उनै डा.रुईतलाई सर्वसम्मत रुपमा पुरस्कार प्रदान गर्ने निर्णय भएको छनौट समिति सदस्य विमला भण्डारीले बताईन् ।
यसअघि यो पुरस्कारबाट मानव बेचबिखनको क्षेत्रमा काम गर्ने संस्था ‘माईती नेपाल’, महावीर पुनको राष्ट्रिय आविस्कार केन्द्र, सर्लाहीको पद्म भुवनेश्वरी नमूना बृद्ध सेवा आश्रम र विन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समितिलाई पुरस्कृत गरिसकिएको गुठीका सचिव नवराज कोईरालाले जानकारी दिए ।