
फेवातालमा उच्च विन्दुमा पानीको सतह, तालको फैलावट पानी सतह बढाइयो
पोखरा, २१ असार/ पछिल्लो समय फेवातालको पानीको सतह ह्वात्तै बढेको छ । पानीको सतह बढ्दा तालबाराही चोकमा मानिस हिड्ने ठाउँसम्मै पानी पुग्यो ।
फेवातालको माथिल्लो सिरान क्षेत्र सेदी, भकुण्डे लगायतको ठाउँ जलमग्न छन् । फेवा फाँट (सिमसार क्षेत्र) जलमग्न छ ।
पछिल्ला पाँच वर्षको तथ्यांक हेर्दा फेवातालमा यो वर्ष जति पानी थिएन ।
फेवातालको क्षेत्रफल पत्ता लगाउन शनिबार पानीको सतह बढेपछि फेवाको बाधको ढोका खोलिएन । बाधको खतराको अंकसम्म पुग्नेगरी पानी रोकियो हो । पानीको सतह ७९४.५० मिटर पुग्दा सेदीदेखी पामेसम्मको फेवाफाँट डुबानमा प¥यो । किसानले लगाएका खेती नै डुब्ने भएपनि पानीको सतह घटाइयो ।
विगत पाँच वर्षको असार १५ गतेसम्मको तथ्यांक हेर्दा ०७७ साल असार १५ मा ७९४.१० मिटर थियो । ०७८ असार १५ मा ७९४.४०, ०७९ मा ७९४.२० र ०८० मा ७९४.१० मिटर पुगेको थियो यसपटक भने बढेको हो ।
जलस्रोत तथा सिचाईँ कार्यालय पोखरा अन्तरगत फेवा सिस्टमका गेट अपरेटर किरण गुरुङले आफुले काम गरेको १२ वर्षमा पहिलो पटक यति धेरै सतहमा पानी पुगेको जानकारी दिए । उनका अनुसार १२ वर्षमा फेवाताल यतिठूलो भएको थिएन ।
वि.सं. २०१८ साल मंसिर ३ गते राजा महेन्द्रले फेवातालको बाँध उद्धघाटन गरेका थिए । उक्त समय फेवातालको कुल क्षेत्रफल ४ वर्गमील (१०.३६ वर्ग किलोमिटर) रहेको थियो ।
बाँध निर्माण गर्दा १५ लाख रुपैयाँ लागत लागेको थियो । तर २०३१ सालमा बाँध फुटेपछि भने तालको क्षेत्रफल ह्वात्तै घटेको पाइन्छ ।







