मनाङलाई सडन डेथमा हराउदै जावलाखेल आहा राराको सेमिफाइनलमा
पोखरा, १५ माघ/ जावलाखेल युथ क्लब २३ औं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।
पोखरा रंगशालामा सोमबार तेस्रो क्वाटरफाइनलमा मनाङ मस्र्याङ्दी क्लबलाई सडन डेथमा हराउदै जावलाखेलले थ्रीस्टारसँग भेट सुनिश्चित ग¥यो ।
सडन डेथमा मनाङका रणदीप पौडेलको प्रहारलाई जावलाखेलका गोलकिपर युनिश चौधरीले उत्कृष्ट बचाऊ गरेपछि जित सुनिश्चित भएको हो । पहिलो ५ पेनाल्टीमा दुवै पक्षबाट ४–४ गोलको बराबरी भएको थियो । त्यसपछि ७–७ पेनाल्टीमा समान ६ गोल भयो ।
प्रतिस्पर्धात्मक खेलमा निर्धारित ९० मिनेटसम्म दुवै पक्षबाट १–१ को बराबरीपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा दुवै पक्षबाट गोल हुन नसकेपछि पेनाल्टी सुटआउटमा पुगेको थियो । मनाङ आहा रारामा ६ पटकको विजेता हो ।
मंगलबार चौथो तथा अन्तिम क्वाटरफाइनल खेलमा नेपाल पुलिस क्लब र चर्च ब्याइज युनाइट क्लबीच प्रतिस्पर्धा हुनेछ । यी दुईबीचको विजेताले त्रिभुवन आर्मी क्लबसँग १८ माघमा दोस्रो सेमिफाइनलमा खेल्नेछ ।