
देवकुमार नेपाली
पोखरा, १२ माघ/ पोखरा र बागलुङमा सहकारी खोली बचत हिनामिनाको आरोप लागेर फरर ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली विरुद्ध रेड कर्नर नोटिस जारी भएको छ ।
नेपालीले पोखरा र बागलुङमा रहेका इमेज सहकारीबाट बचतकर्ताको २ अर्ब र विभिन्न बैंकको ३५ करोड हिनामिना गरेको आरोप छ । नेपाल प्रहरीले नेपालीविरुद्ध रेड कर्नर नोटिस जारी भएको प्रहरीले बताएको छ ।
प्रहरीले इन्टरपोटमार्फत् उनको खोजी जारी रहेको बताएको छ । बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख नेपाली गएको वैशाख देखि सम्पर्क बिहिन छन् ।
नेपालीको समूहले पोखरा र बागलुङमा एकै नाममा दुई सहकारी इमेज बचत तथा ऋण सहकारी खोली बचत हिनामिना गरेको प्रहरी अभियोग छ । इमेज सहकारी प्रकरणमा अदालतले आठ जनाविरुद्ध जेठमै पक्राउ पुर्जी जारी गरेको थियो ।उनीहरुविरुद्ध एक हजार पाँच सय ५० बचतकर्ताले प्रहरीमा उजुरी दिएका छन् ।
त्यसै गरी प्रहरीले इमेज बचत तथा सहकारी संस्था बागलुङकी कोषाध्यक्षलाई पक्राउ गरेको छ । बागलुङको निसिखोला गाउँपालिका ३ बस्ने २७ वर्षीया लक्ष्मी सेन सुनारलाई पक्राउ गरेको हो ।
उनलाई ललितपुरको धोबीघाटबाट पक्राउ गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ । सुनारलाई शनिबारसम्म बागलुङ ल्याइने प्रहरीले जनाएको छ ।
बागलुङ र पोखरामा गरी दुई ठाउँमा रहेको इमेज सहकारीमा चार हजार बचतकर्ताको २ अर्ब बढी रकम अपचलन गरेको आरोपमा सहकारीका अध्यक्ष देवकुमार नेपाली सहित १३ जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो । जसमध्ये ५ जना पक्राउ परिसकेका थिए ।





