मुग्लिन–पोखरा सडकः नौ किलोमिटर एकतर्फी कालोपत्र, पहिलो भन्दा बाटो सुधार

-


     क्लिक गण्डकी     
     मंसिर १९ गते २०८० मा प्रकाशित


सडक

सडक

तनहुँ, १९ मंसिर/ मुग्लिन पोखरा सडक विस्तारअन्तर्गत तनहुँको नौ किलोमिटर एकतर्फी कालोपत्र सकिएको छ । मुग्लिन पोखरा सडक विस्तार योजनाको पूर्वी खण्डको आँबुखैरेनी र बन्दीपुरमा नौ किलोमिटर खण्ड एकतर्फी कालोपत्र सकिएको हो ।

बन्दीपुर गाउँपालिका–१ नाहालादेखि छिर्कनेसम्म पाँच दशमलव पाँच किलोमिटर र आँबुखैरेनी गाउँपालिका–१ बरादीमा तीन दशमलव पाँच किलोमिटर खण्ड कालोपत्र सकिएको पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए ।

पूर्वी खण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मको दूरी ४१ दशमलव ४५ किमी रहेको छ । आँबुखैरेनीको मार्कीचोकदेखि बरादीसम्मको खण्डमा कालोपत्रको काम थालिएको छ । पहिला कालोपत्र भइसकेको बरादीसम्म मार्कीचोकदेखि कालोपत्र जोड्न काम थालिएको पाण्डेले बताए ।

पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित काम भइरहेको मुग्लिन पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा धमाधम काम भइरहेको छ । आँबुखैरेनीदेखि जामुनेसम्मको खण्डमा काम तीव्र गतिमा अगाडि बढेको पाण्डेको भनाइ छ ।

पूर्वी खण्डमा सडक फराकिलो बनाउने, पक्की पुल तथा कल्भर्ट निर्माणले पनि गति लिएको छ । यो खण्डमा हालसम्म ३८ प्रतिशत काम सकिएको छ । पश्चिम खण्डअन्तर्गत जामुनदेखि पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो ।

यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ भदौसम्म छ । पश्चिम खण्डको काम भने सुस्त छ ।

विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैङ्कको ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो ।



Tags: