
देवकुमार नेपाली
पोखरा, ७ मंसिर/ सहकारीको रकम अपचलको आरोप लागेका ढोरपाटन नगरपालिकाका मेयर तथा इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई संघर्ष समितिले सम्पर्कमा आउन भनेको छ ।
सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि इमेज सहकारी पीडित संघर्ष समितिको चाँडै नै नेपालीलाई समितिको सम्पर्कमा आउन भनेका हुन् ।
समितिका तर्फबाट अध्यक्ष हरिबहादुर खत्रीले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै बचतकर्ताको बचत रकम फिर्ता गर्ने आशयसहित नेपाली सामाजिक सञ्जालबाट सार्वजनिक भएकोमा उत्साहित हुँदै तत्काल समस्या समाधानका लागिसम्पर्कमा आउन आग्रह गरिएको हो ।
समितिका अध्यक्ष खत्रीका अनुसार इमेज सहकारीमा बचतकर्तामध्ये ५ सय २४ जनाले आफ्नो रकम फिर्ताको माग गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका छन् । जसमा कुल करिब ५४ करोडसम्म बचत रहेको उल्लेख छ । तीमध्ये एकै जनाको सबैभन्दा धेरै ३ करोड रुपैयाँ रहेको छ ।
नेपालीले आफू ७ वर्षदेखि ढोरपाटनको नगर प्रमुख जिम्मेवारीमा रहेकाले सहकारीमा समय दिन नसकेको र एकै पटक धेरै जना बचतकर्ताले बचत फिर्ता माग्न आउँदा सहकारी समस्यामा परेको दाबी गरेका छन् ।
आफ्नो र पत्नीका नाममा भएको घरजग्गाको सार्वजनिक विवरण अनुसार देशका विभिन्न ठाउँमा १८ घर र ४४ कित्ता जग्गा छन् । सहकारीले पोखरासँगै बागलुङ, बुर्तीबाङ, गल्कोटमा गरी १ अर्ब ५४ करोड बढी रकम बचतकर्ताबाट उठाएर हिनामिना गरेको सहकारी रजिस्ट्रारको कार्यालयले गरेको अध्ययनमा उल्लेख छ ।





