
पोखरामा हुने केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा
पोखरा, ५ मंसिर/ पोखरामा बिहीबारबाट शुरु हुने केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मदन भण्डारी स्पोटर्स एकेडेमीको आयोजनामा टी–२० क्रिकेट प्रतियोगिता पोखरा रंगशालामा हुनेछ ।
मंसिर ७ देखि १५ गतेसम्म हुने प्रतियोगितामा ३ विभागी, ७ प्रदेश र आयोजनकका दुई टिम गरी १२ टिमको सहभागिता जनाउने छन् । सात प्रदेशका सात टिम, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब तथा मदन भण्डारी स्पोसर्ट एकेडेमीका रातो र निलो गरी १२ टिमको सहभागिता रहने आयोजकले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार नगद सहति मेडल र ट्रफि प्राप्त गर्ने मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए । यस्तै, म्यान अफ द सिरिजले नगद ३० हजार, बेस्ट व्यटार र बलरले जनही नगद २०÷२० हजार तथा म्यान अफ द म्याचले नगद ५ हजार रुपैयाँ पाउने भण्डारीले बताए ।
प्रतियोगिता हेर्न क्रिकेट रंगशालामा अस्थायी प्यारापिट बनाइएको छ । साढे ५ सय दर्शक अट्ने प्यारापिटमा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ । कार्यक्रमको उद्घाटन पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । पूर्व राष्ट्रिय खेलाडी समेत रहेका प्रतियोगिता संयोजक शक्ति गौचन, राखेपका सदस्य राजेश गुरुङ लगाएतले प्रयोगिताका तयारीका बारेमा जानकारी दिएका थिए ।
उद्घाटन खेल कर्णाली प्रदेश र बागमती प्रदेश बिच खेल हुनेछ । दैनिक दुई खेल हुने आयोजकले जानकारी दिएको छ । खेल तालिका अनुसार ग्रुप ‘ए’मा बागमती प्रदेश, कर्णाली प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी रातो, ग्रुप ‘बि’मा एपिएफ, लुम्बिनी र गण्डकी, ग्रुप ‘सि’मा नेपाल पुलिस, मधेश प्रदेश र सुदुर पश्चिम तथा ग्रुप ‘डि’मा त्रिभुवन आर्मी क्लव, कोशी प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी निलो रहेका छन् ।





