राष्ट्रिय मावि हिरक जयन्तीमा

-


     क्लिक गण्डकी     
     कार्तिक २३ गते २०८० मा प्रकाशित


राष्ट्रिय मावि हिरक जयन्तीमा

राष्ट्रिय मावि हिरक जयन्तीमा

रवीन्द्र माकाजू

राष्ट्रिय मावि टुँडीखेलले मार्ग २० गते आफ्नो स्थापनाको ७५ औं जन्मदिवस अर्थात हिरक जयन्ती भव्यतापूर्वक मनाउन लागिरहेको समाचार सुन्न पाउँदा मलाई अपार हर्ष र खुसी लागेको छ ।

कुनै पनि संस्थाले अविछिन्न रूपमा यत्रो लामो समय पार गर्नु महान चुनौतिपूर्ण कार्य हो । अझ विशेष गरी आफू स्वयं पनि यसै विद्यालयको पूर्व विद्यार्थी भएका नाताले हिरक जयन्तीलाई भव्यतापूर्वक मनाउनु परमकर्तव्य ठान्दछु र कार्यक्रमको पूर्ण सफलताको कामना गर्दछु ।

म २०३० सालतिर भर्ना भै २०३३ सालमा सोही विद्यालयबाट एसएलसी परीक्षा दिएको हूँ । मलाई सम्झना छ, २०३० साल मार्ग २० गते नै हुनुपर्छ विद्यालयले रजत जयन्तीका अवसरमा पूर्व विद्यार्थीहरूको पूनर्मिलन समारोह मनाएको ।

मैले त्यसबेला रजत जयन्ती तथा पूनर्मिलन समारोहको भावना र मर्म भने बुझेको थिइँन । विज्ञान भवनमा कार्यक्रम भएको थियो थुपै्र मान्छे भेला भए त्यसले के कस्तो अर्थ राख्यो र उपलब्धि भयो मैले त्यसबेला केही ठम्याउन सकिन ।

अहिले त्यसको ठिक ५० वर्ष पछि विद्यालयले हिरक जयन्ती मनाउँदै छ । यो अवसरमा मैले विद्यालयको इतिहास कोट्याउने प्रयास गरेको छु । विद्यालयको लामो एवं स्वर्णिम इतिहासलाई १/२ पानामा लिपिबद्ध गर्न सकिने विषय होइन तापनि मूलमर्म र भावनालाई भने समेट्न सकिन्छ भन्ने मेरा आफ्नै मान्यता छन् ।

विसं २००६ साल मार्ग २० गते सञ्चालक समितिको अध्यक्ष मेजरजनरल वडाहाकिम धनसम्सेर जंगबहादुर राणा अध्यक्ष र पं। ऋषिकेशव पराजुली सचिव भएको विद्यालय सञ्चालन समितिले हेडमास्टरमा कृष्णबहादुर श्रेष्ठ सहायक हेडमास्टरमा रत्नबहादुर श्रेष्ठ र शिक्षक भोलानाथ पराजुलीलाई नियुक्ति गरी नारायणस्थानको नदीपुरमा पोखरा पब्लिक विद्यालय नाम राखी पठनपाठन तथा श्रीगणेश गरेको शुभ दिनलाई पोखराको इतिहासमा स्वर्ण अक्षरले लेखिएको छ ।

त्यसबेला पोखरा दुर्गम भएकाले राजधानीबाट आएका शिक्षकहरु यहाँ बस्न मन पराउँदैन थिए । प्रधानाध्यापक आउने, जाने क्रममा २००९ सालतिर हेडमास्टर नन्दलाल पाण्डेले विद्यालयको स्तरोन्नति गर्ने पवित्र अभिप्रायले विद्यालयको नाम नेशनल हाईस्कुल राखियो । त्यसपछि छिटोछिटो एसएलसी परिक्षा दिने विद्यार्थी तयार पार्ने ध्येयले विद्यार्थीहरूका कक्षा चढाइन्थ्यो ।

यसैका कारण विद्यार्थीहरूले पहिलो पटक वि।सं। २०११ सालमा एसएलसी परिक्षा दिने अवसर पाए । परिक्षा दिनेहरूमा मेजर दीपक गुरुङ, प्रताप भट्टचन, सूर्यरत्न शाक्य, घनश्याम मर्सानी, षडमुख बहादुर थापा थिए । थापा बाहेक सबैले परिक्षा पास गरे । मेजर दीपक गुरुङ राष्ट्रिय सभाका सदस्य बने भने सम्पादक भट्टचनले भैरहवाबाट दैनिक निर्णय पत्रिका निकाल्थे । शाक्य र मर्सानीले लामो समयसम्म पृथ्वीनारायण क्याम्पसमा पढाए ।

२०११ सालबाट पोखराका विद्यार्थीहरूले एसएलसी दिने भएपछि थप उच्च शिक्षाका लागि कि काठमाडौं जानु पर्दथ्यो या भारतको वनारस । पछि नेशनल हाइस्कुलमा हेडमास्टर श्यामप्रसाद पन्तले पोखरामा कलेजको माग गर्दै विद्यार्थीहरूको जुलुस निकाले । यो घटनाले समग्र पोखराको ध्यान तान्यो ।

तत्कालीन पोखरा नगरमा मेयर शिबबहादुर थापाको पहलमा वडाहाकिम नारायणप्रसाद शर्माको अध्यक्षता पृथ्वीनारायण कलेज सञ्चालक समिति गठन भयो । २०१७ साल भाद्र १७ गते विधिवत पोखरामा पृथ्वीनारायण कलेजको शुभारम्भ भयो ।
२०१२ सालमा प्रधानाध्यापक भै श्यामप्रसाद पन्त पोखरा आएपछि विद्यालयले गति लियो । उनको विशेष पहल र अध्यक्ष अमृतप्रसाद शेरचनको नेतृत्वमा अमेरिकी सहयोगमा पोखराको टुँडीखेलमा विद्यालयको अत्याधुनिक भवन बन्यो । सम्भवत पोखरामा पहिलो पटक बनेको सिमेन्टेड भवन नै यही विद्यालय हो ।

यस विद्यालयलाई नेशनल भोकेशनल हाइस्कुल पनि भनिन्थ्यो । अमेरिकी सहयोगमा व्यवसायिक शिक्षा प्रदान गरिन्थ्यो । कृषिशिक्षाका लागि रत्नकुमार कायस्थ, कार्पेन्टर र बिजुली जडानका लागि गणेशलाल श्रेष्ठ, शर्टहैण्ड टाइपिङका लागि भोला पराजुली र विष्णुकुमार श्रेष्ठ ब्यापार का बिषय मा घन्श्याम मर्सानी ,, गृहविज्ञान तथा सिलाई बुनाइका लागि रुकमणी नेपाली र विष्णु कुमारी थापा निकै चर्चित हुनुहुन्थयो । यस विद्यालयको स्थापना र सञ्चालनमा धेरै समाजसेवी हात सहयोग प्राप्त भएको छ ।

विद्यालयले हिरक जयन्ती मनाइरहँदा मैले विद्यालयका संस्थापकहरु प्रति श्रद्धासुमन व्यक्त गर्नै पर्दछ । ती महान् आत्माहरु पं। ऋषिकेशव पराजुली अमृतप्रसाद शेरचन, पे्रमराज मुल्मी, धनसम्सेर जंगबहादुर राणा, सुन्दरप्रसाद मर्सानी, वीरेन्द्रकुमार बाटाजू, श्यामप्रसाद पन्त, नन्दलाल पाण्डे, कृष्णबहादुर श्रेष्ठ, रत्नबहादुर श्रेष्ठ, भोलानाथ पराजुली, दयाशंकर पालिखे, प्रदीपशंकर पालिखेहरू प्रमुख छन् ।

अमरसिंह माध्यमिक विद्यालयपछि धेरै जमिन भएको यस विद्यालयका लागि साठी घरे पराजुलीले थुपै्र जमिन दान गरे । यसको आप्mनै फुटबल मैदान छ । यस विद्यालयमा हरेक शुक्रबार अतिरिक्त क्रियाकलाप सञ्चालन हुन्थ्यो । जहाँ संगीत, साहित्य, कला जस्ता क्षेत्रलाई विशेष प्राथमिकता दिइन्थ्यो । विद्यालयमा नाटक मञ्चन हुन्थ्यो । यसैका कारण चेतन कार्की, बाबा राणा, सरोज गोपालहरु जन्मन सक्यो । वास्तवमा यो स्कुल त्यस बेलाको प्रज्ञा प्रतिष्ठान जस्तै थियो ।

अन्त्यमा, हामीले जुन जुन गुरुले शिक्षा दिनुभयो ज्ञानका नेत्र खोलिदिनुभयो । उहाँहरुप्रति हामी श्रद्धाले शिर निहुराउँछौं । आज आफूले ज्ञान पाएको शिक्षा मन्दिर प्रति नतमस्तक भै आगामी दिनमा पनि यो विद्यालय फलोस् फूलोस् भन्ने कामना गर्न २०८० मार्ग २० गते हुने हिरक जयन्ती कार्यक्रम रहेको छ ।



Tags: