
च्यांग्रा
पोखरा, ३० असोज/ दशैमा पोखरा र आसपासमा खसीबोका भन्दा धेरै हिमाली जिल्लाबाट झरेका च्यांग्रा र भेडा पहिलो रोजाइमा पर्दछन् । पोखरामा धेरै च्यांग्रा मुस्ताङबाटै ल्याइने गर्दछ । कोरोना भन्दा पहिलो तिब्बतदेखि पनि पोखरामा च्यांग्रा आइपुग्थे ।
कोरोनाका कारण मुस्ताङमा चीनको कोराला नाका बन्द हुदाँ च्यांग्रा आएका छैनन् । त्यस्कै अभावलाई पोखरामा पश्चिमका जिल्लाबाट च्यांग्रा भित्रीएका छन् । घटस्थापना सँगै पोखरा १ याम्दी क्षेत्रमा भेडा– च्यांग्राका बथान आइपुगेका छन् ।
पोखरामा दशैका लागि मुस्ताङबाट च्यांग्रा र भेडा आउने गर्दछन् ।

तर पछिल्ला समयमा हिमाली जिल्ला बझाङ र बाजुराबाट भेडाच्यांग्रा पोखरा भित्रिन थालेका छन् । केही वर्ष अगाडीबाट डोल्पाबाट पनि आउने गरेकामा यस वर्ष बझाङ र बाजुराबाट मात्रै ३ हजारभन्दा धेरै भेडाच्यांग्रा पोखरा भित्रिएको व्यपारी सोनामा तामाङले बताए ।
तर पनि पहिलो रोजाइमा मुस्ताङ कै च्यांग्रा पहिलो रोजाइ पर्ने अर्का व्यपारी चन्द्रमोहान रोकामगरले बताए । उनले मुस्ताङबाट १ सय ५० च्यांग्रा ल्याएको सोमबार साँझ सम्म सबै विक्रि भएको बताए । उनले ८० वटा काठमाडौंका व्यापारीले लगेको र ७० वटा पोखरामा विक्रि गरेको बताए ।
मुस्ताङबाट १ हप्ता हिँडाएर वा ट्रकमा भेडा– च्यांग्रा पोखरा ल्याउँछन् । उनले मुस्ताङी भेडा– च्यांग्रा केही आइपुगे पनि अधिकांश बाटोमै रहेको बताए । यो वर्ष पोखरामा मात्रै १२ हजार हाराहारी भेडा–च्याङ्ग्रा आउने अनुमान छ । यसबाहेक १५ हजारको हारहारीमा खसी बोका पोखरामा भित्रिदै छन् । खसि बोका खसि बजारबाट विक्रि हुने गरेका छन् । पोखरामा करिब ३० हजार जती खसी च्यांग्रा उपभोग हुने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका प्रमुख शम्भुराज पाण्डे बताए ।
उनले मस्ताङ, डोल्पा, बाजुरा, बजाङबाट भेडा च्यांग्रा करिब १२, खसि बोका करिब १५ हजार र घर गाउँमा रहेका खसि बोका, कुखुरा गरेर करिब ३० हजार खपत हुने बताए । पोखरामा चार्ड पर्व बाहेक दैनिक डेढ सय भन्दा बढी खसीबोका खपत हुन्छ ।
पहिले खसीबोका भन्दा सस्तो भएर खाने भेडा– च्यांग्रा अहिले सबैभन्दा महँगो भएको पोखरा ३३ का बासु अधिकारीले बताए । उनले महँगो भए पनि च्यांग्रा संस्कृति पोखरामा विकास भएका कारण खाने गरेको बताए । हिमाली भेगमा जडिबुटि खाएका स्वचछ च्यांग्रा भएको कारण खाने गरेको बताए ।
यो वर्ष भेडा–च्याङ्ग्राको मूल्य झनै बढेको छ । अघिल्लो वर्ष ५० हजारसम्म विक्री हुने भेडा– च्यांग्रा अहिले ६० हजारसम्म पुगेको छ । बढ्दो माग र उत्पादन घट्दै गएकाले मूल्य बढेको हो । कोरोना संक्रमणपछि चीनबाट च्यांग्रा नेपाल आउनु, मुस्ताङमा हिउका कारण च्यांग्राहरु मर्नु लगातका कारण महँगिएको छ ।





