
एमाले गण्डकी अधिवेशनः आज ४ बजेपछि निर्वाचन प्रक्रिया अगाडी बढ्ने
पोखरा, १६ असोज/ नेकपा एमाले गण्डकीको अधिवेशनमा मंगलबार ४ बजेपछि नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढ्ने भएको छ ।
सोमबार दिउँसो उद्घाटनपछि अधिवेशनको बन्द सत्र पोखरा सभागृहमा चलेको थियो । अधिवेशनमा अध्यक्ष नवराज शर्माले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
बन्द सत्रमा प्रस्तुत प्रतिवेदनउपर दिनभर आठवटा समूह बनाएर समूहगत छलफल गर्ने, महासचिवको सम्बोधन सुन्ने र ४ पछि निर्वाचन प्रक्रिया अघि बढाउने तयारी रहेको एमाले प्रदेश उपसचिव एवं प्रचार विभाग प्रमुख रश्मि आचार्यले जानकारी दिए ।
आज उम्मेदवार दर्ता गर्ने, मतदाता नामावली प्रकाशन गर्ने र बुधबार निर्वाचन गर्ने तयारी रहेको आचार्यले बताए ।
गण्डकी अध्यक्षका लागि उपमहासचिव पृथ्वीसुब्बा गुरुङको तर्फबाट अहिलेका अध्यक्ष नवराज शर्मा र महासचिव शंकर पोखरेल र स्थायी कमिटी सदस्य खगराज अधिकारीको समूहबाट केन्द्रीय सदस्य मायानाथ अधिकारी अध्यक्षका उम्मेदवार बन्ने चर्चा छ ।
गण्डकीमा ११ जिल्ला र जनसंगठनबाट ९ सय ७ जना प्रतिनिधि छन् उनीहरुले १ सय ६५ सदस्य नयाँ कार्यसमिति चयन गर्ने छ ।





