एमाले गण्डकी अधिवेशन शुरु, गठबन्धनको सरकारले जनताको भाग्य र भविष्य बिगा¥यो -नेता शंकर पोखरेल

-


     क्लिक गण्डकी     
     असाेज १५ गते २०८० मा प्रकाशित


एमाले गण्डकी अधिवेशन शुरु, गठबन्धनको सरकारले जनताको भाग्य र भविष्य बिगा¥यो नेता शंकर पोखरेल

पोखरा, १५ असोज/ नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धनको सरकार रहेसम्म जनताको भाग्य र भविष्य बिग्रिने बताएका छन् । पोखरामा एमाले गण्डकी प्रदेश अधिवेशनको उद्घाटन गर्दै महासचिव पोखरेलले एमालेलाई सरकारबाट हटाएपछि युवाहरू विदेश जान थालेको बताए ।

उनले पछिल्लो एक वर्षमा ७ लाख ६३ हजार युवा विदेश गएको बताउदै गठबन्धनको सरकार रहेसम्म जनताको भाग्य र भविष्य बिग्रिने दावी गरे । उनले ठूला घोटाला प्रकरणबारे छानबिन गरे गठबन्धनका धेरै नेताहरू जेल जाने बताए ।

महासचिव पोखरेलले राजकीय भ्रमणमा जाँदा गेरुवस्त्र धारण गर्नु लज्जाको कुरा भएको बताए । उनले विमानस्थलबाट जाँदा राष्ट्रिय पोसाक फुकालेर गेरुवस्त्र धारण गर्दा गर्नु लज्जाको विषय भएको बताए ।

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र कांग्रेस सभापति शेरबहादुर देउवासँग म्याच फिक्सिङ गरेको आरोप लगाए ।

उनले अहिले सरकारले भ्रष्टाचार विरोेधी अभियानको नाममा नौटंकी गरिरहेको टिप्पणी गरे । उनले ललिता निवास प्रकरणको फाइल फेरि खुल्ने दाबी बताए ।

अधिबेशनका उद्घाटन सत्रमा विभिन्न सांस्कृतक कार्यक्रमहरु प्रस्तुत भएका थिए भने विभिन्न नेताहरुले सम्बोधन गरेका थिए । गण्डकीमा नेतृत्व छान्न ९ सय ७ जना प्रतिनिधि चयन भएका छन् । २ दिन सम्म चल्ने अधिवेशनमा नेतृत्व चयन गर्ने छ ।

एमाले गण्डकीमा अधिवेशनले हाल ५ सय ५९ जना रहेको प्रदेश कमिटी घटाएर १६५ सदस्यीय कमिटी निर्वाचित गर्ने अध्यक्ष नवराज शर्माले जानकारी दिए ।

निर्विरोध नेतृत्व चयन गर्ने दाबी गरेपनि नेताहरू गुटअनुसार विभाजित भएर मत माग्न थालिसकेका छन् । गण्डकीमा एमाले भित्र पृथ्विसुब्बा गुरुङ र खगराज अधिकारी गुटबन्दीका रुपमा देखीन्छ ।