
हत्गढी
पोखरा, ३१ जेठ/तनहुँमा मगलबार बोराभित्र मृत फेला परेकी युवतीको हत्या आरोपमा उनका श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले हत्या आरोपमा भानु नगरपालिका–५ मैबल घर भई व्यास नगरपालिका–४ स्थित डेरामा बस्ने २० वर्षीय मनोज विष्टलाई पक्राउ गरेको छ ।
व्यास–१२ माइती भएकी उनकै २२ वर्षीया श्रीमती रंगिला भुजेलको मृत भेटिएकी थिइन् । आफ्नी श्रीमतीको अर्कै प्रेमी रहेको थाहा पाए पछि मनोजले शुक्रबार मध्याह्नमा डेरामा रंगिलालाई मुक्काले हिर्काएको तनहुँ प्रहरी कार्यालयका एसपी अबदेश विष्टले बताए ।
त्यसपछि उनले घाँटी थिचेर हत्या गरेको एसपी विष्टले बताए । हत्यापछि उनले व्यास–४ चिहानडाँडा नजिकैको नालामा फ्याँकेका थिए । शव मंगलबार बिहान स्थानीयले गन्ध आएको थाहा पाएपछि फेला पारेका थिए ।
२४ जेठदेखि माइती पक्षको सम्पर्कमा नरहेकी उनको शव बाबुले पहिचान गरेका थिए । भुजेलको गत वैशाख १ मा विवाह भएको थियो । मनोजमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न प्रहरीले अदालतबाट अनुमति लिएको छ ।





