काठमाडौं करिब डेढ अर्बको लगानीमा होटल बाराही काठमाडौं सञ्चालनमा

-


     क्लिक गण्डकी     
     जेठ ७ गते २०८० मा प्रकाशित


होटल बाराही काठमाडौं

होटल बाराही काठमाडौं

काठमाडौँ, ७ जेठ/ पोखरामा स्तरीय सेवा प्रदान गर्दै आएको होटल बाराहीले काठमाडौंमा पनि सेवा विस्तार गरेको छ । बाराही हस्पिटालिटी अन्तर्गत काठमाडौंको ठमेलमा नयाँ होटल बाराही काठमाडौं आजबाट सञ्चालनमा ल्याएको छ । फोर स्टार स्ट्यान्डर्ड अनुमति लिएको होटलमा आठ वटा सुइट र ७२ वटा डिलक्स रुम गरि ८० वटा रुम रहेका छन् ।

डिलक्स रुमको अफर शुल्क सय डलर रहेको बाराही हस्पिटालिटीका निर्देशक विप्लब पौडेले जानकारी दिए । लाउन्ज र थिएटर सेटअपमा १ सय २० जना अट्ने सभा हल सहित रेष्टुरेण्ट, बार, प्राइभेट डाइनिङ हल रहेका छन् । केशरमहलको अगाडि चोकमा रहेको होटलको सातौं तलामा स्वीमिङ पुल रहेको छ ।

बाराही ग्रुपले व्यवसायिक कम्प्लेक्ससहितको होटल निर्माण गरेको हो । कम्प्लेक्सको भुँइतलादेखि तीन तलासम्म अफिस र विभिन्न पसल रहने छन् भने बाँकी ६ तलामा होटल रहेको छ । भुइतलामा पाकिङ रहेको छ ।

सपिङ कम्प्लेक्स सहितको होटल निर्माण गर्न करिब एक अर्ब चालिस करोड रुपैयाँ खर्च भएको पौडेलले बताए । ४ दशक अगाडि पोखराको लेकसाइडमा हरिप्रसाद पौडेलले ९ कोठा प्याराडाइज गेस्ट हाउसबाट होटल व्यवसायमा हात हालेका थिए । सोही होटललाई बाराही नामाकरण गरेका थिए । पौडेलले हस्पिटालिटी क्षेत्रमा देखाएको बाटो पछ्याउँदै उनका छोराहरू विप्लव र वैभव सोही व्यवसायमा आवद्ध छन् ।

बाराही ग्रुपको लगानीमा चितवनको मेघौलीमा बाराही जंगल लज, पोखरामा होटल बाराही, व्यञ्जन रेस्टुरेन्ट, सराङकोट माउन्टेन लज, आवास पोखरा, द बिच बार एन्ड लज समेत सञ्चालनमा छन् ।

बाराही ग्रुपको नेतृत्वमा पोखराको सेदीमा पाँचतारे होटल निर्माणाधीन छ । पब्लिक लिमिटेड कम्पनी रहेको बाराही सेदी लिमिटेड सर्वसाधारणका लागि प्राथमिक सेयरमा जाने कम्पनीले जनाएको छ ।



Tags: , ,