
पोखरा घर आउदै गरेका दुई चिकित्सकको विमान दुर्घटनामा मृत्यु
पोखरा, ८ माघ/ पोखरामा माघ १ गते यति एअरलाइन्सको जहाज दुर्घटनामा परि दिवंगत भएका पोखरा ४ का श्रेष्ठ दम्पतिको अन्तेष्टि आइतबार भएको छ । दुर्घटना भएको एक साता पछि परिवारले शव प्राप्त गरेपछि सेती नदीको रामघाटमा अन्तेष्टि गरेका हुन् ।
माघ १ गते पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना दुई चिकित्सकको मृत्यु भएको थियो । राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत ३८ वर्षीय डा सुशील श्रेष्ठ र उनकी श्रीमती डा सोना दिवारकको मृत्यु भएको थियो ।
उनीहरुका १० महिनाको छोराको पनि मृत्यु भएको थियो । श्रेष्ठ अर्थोपेडिक तथा स्पाइन सर्जन हुन् । उनी ट्रमा सेन्टरमा ६ वर्षदेखि काम गर्दै आएका थिए । उनीहरु आफ्नो बच्चाका साथ पोखरा घरमा छुट्टी मनाउने क्रममा दुर्घटनामा परेका थिए ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स० बाट अर्थोपेडिक सर्जरीमा एमडी गरेका डा श्रेष्ठले गण्डकी मेडिकल कलेज र म्याग्दीको दरबाङ स्वास्थ्य चौकीमा मेडिकल अधिकृतका रुपमा समेत काम गरेका थिए । उनले काठमाडौं मेडिकल कलेजबाट एमबीबीएस गरेका हुन् ।
डा सुशीलकी पत्नी डा दिवारक भने बच्चा जन्मिएपछि काम छाडेर बसेकी थिइन् । उनले चितवन मेडिकल कलेजबाट एमबीबीएस पास गरेकी थिइन् । उनी विशेषज्ञ चिकित्सकका लागि तयारी गरिरहेकी थिइन् । उनीहरु पोखराका एमाले नेता मदनकाजी श्रेष्ठका छोरा बुहारी हुन् ।





