
संकटा आहा रारा पोखरा गोल्डकपको फाइनलमा
पोखरा, २० पुस/ गत वर्षको उपाधि विजेता सशस्त्र प्रहरीको एपिएफ क्लबलाई फराकिलो अन्तरले हराउदै संकटा क्लब आहा रारा पोखरा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । २२ औं आहा रारा पोखरा गोल्डकपमा संकटाले एपिएफलाई ४–१ गोलले हरायो ।
पोखराको मैदानमा बुधबार भएको पहिलो सेमिफाईनल खेलमा संकटासँग सशस्त्र शुरुदेखि नै लर्बराएको थियो । त्रिभुवन आर्मी क्लबलाई क्र्वाटरफाईनलमा पराजित गर्दै सेमिफाईनल प्रवेश गरेको संकटाले अर्को विभागीय क्लबलाई सहज पन्छाउन दुई अफ्रिकन खेलाडी नायक बने ।
संकटाको जितका लागि विदेशी खेलाडी स्टेफन बिनोङले २ र मेसुके ओलामाउले २ गोल गरेका थिए भने एपीएफका लागि सान्त्वना गोल हरि कार्कीले गरे । संकटा दोश्रो पटक फाइनल प्रवेश गर्दा बिदेशी खेलाडी मेसुके ओलामाउ र स्टेफनको गोल निर्णायक बनेपछि फाइनल यात्रा पक्का भयो ।
खेल सुरु भएको ५ मिनेटमै संकटाका लागि स्टेफन बिनोङले गोल गर्दै टिमलाई अग्रता दिलाए । खेलको ४२ औं मिनेटमा मेसुके ओलामाउले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए । उनले स्टेफनको पासमा लामो प्रहार गर्दै गोल गरेका हुन् । खेलमा एपीएफले पटकपटक अवसर पाए पनि सदुपयोग गर्न भने सकेन ।
खेलको ६० औं मिनेटमा पुनः स्टेफन बिनोङलेले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३–० को अग्रतामा पु¥याए । उनले टिमका डिफेन्स आन्द्रे बियिकले दिएको लामो पासलाई बिना गल्ती सुन्दर फिनिसिङ दिएका हुन् ।
७३ औं मिनेटमा एपीएफका हरि कार्कीले एपीएफका लागि सान्त्वता गोल गरे । बिकु तामाङले डिबक्स क्षेत्रबाट दिएको छोटा पासलाई सहजै गोल गरे ।तर, ८५ औं मिनेटमा संकटाकै मेसुकेले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रतालाई फराकिलो बनाए ।
सहारा क्लबको आयोजना तथा हिमश्री फुड्स प्रालिको उत्पादन आहा रारा चाउचाउको मुख्य प्रायोजन रहेको प्रतियोगितामा बिहीबार सेमिफाईनल खेल भुटनिज युथ स्पोर्टस क्लब मिनेसोटा अमेरिका र चर्च ब्वाईज युटाईटेड बीच हुने छ ।





