व्यावसायीको गुनासो सुन्दै मत माग्दै अर्जुन प्यानल

-


     क्लिक गण्डकी     
     भाद्र १५ गते २०७९ मा प्रकाशित


व्यावसायीको गुनासो सुन्दै मत माग्दै अर्जुन प्यानल

व्यावसायीको गुनासो सुन्दै मत माग्दै अर्जुन प्यानल

पोखरा, १५ भदौ / पोखरा उद्योग वाणिज्य संघको आशन्न महाधिवेशनमा नेतृत्व लिनका लागि अध्यक्षका प्रत्यासी अर्जुन पोखरेल प्यानलको टोली बुधबार घरदैलो कार्यक्रमका लागि पोखरा १० अमरसिंहचोक पुग्यो । एक हुल मानिश देख्ने वित्तिकै यिनीहरुले केही गर्ने होइन भन्दै एक व्यासायीले नाक खुम्च्याउन थाले । उनले भन्दै थिए, ‘भोट माग्न मात्र आउँछन् गर्ने केही होइन् ।’

उनी आफैले बनाएको पिंढीमा पसलका सामान राख्न नपाउँदा समस्यामा रहेछन् । हाते ट्याक्टर व्यावसायी उनले पसल अगाडि ट्याक्टर प्रदर्शन गर्नकै लागि ढुंगा बिछ्याएका थिए । केही दिन ट्याक्टर बाहिर राखेपछि महानगरपालिका पुगेर पसल बाहिर सामान नराख्न निर्देशन दिएपछि उनी तनावमा रहेछन् । मापदण्ड भित्र नपर्ने स्थानमा पनि सामान प्रदर्शनमा राख्न नपाउँदा व्यावसायमा घाटा परेको उनले सुनाए । उनको समस्या अर्जुन प्यानलबाट महासचिवका आकांक्षी केशवबहादुर खत्री र उपमहासचिब पदका उम्मेदवार हर्कबहादुर केसी (मिराज) टिप्न भ्याए ।

आफ्नो समस्या नोट नै गर्न थालेपछि उनको आक्रोश घट्यो । यो टिमले केही गर्छ भन्ने उनमा लाग्यो । छुट्ने बेलामा अर्जुन प्यानललाई भोट गर्नूस् है भन्दा उनले जवाफ फर्र्काए, ‘हुन्छ हजुर भैहाल्छ नि ।’ ती व्यावसायीको जस्तै पोखराका हरेक उद्योगी व्यावसायीहरुको समस्या छन् । पोखरेल प्यानल उनीहरुको समस्या टिप्दै भोट माग्दै हिडेका छन् । समस्या टिपेर राखेपछि आफू नेतृत्वमा गएपछि समाधान गर्नका लागि सहज हुने उद्योग उपाध्यक्षका आकांक्षी देवेन्द्र केसी बताउँछन् ।

‘हामी अहिले भोट माग्न भन्दा पनि भेटघाट र समस्या टिप्न हिडेका छौं,’ उनले भने, ‘अहिले समस्या र गुनासा सुनेपछि पछि नेतृत्वमा गएपछि हामीलाई काम गर्न सहज हुन्छ । आशा छ काम गर्छु भनेर यसरी हिंडेको प्यानललाई मतदाताहरुले विश्वास गर्नुहुनेछ ।’

अर्जुन पोखरेलको प्यानल बुधबार घरदैलो कार्यक्रम गर्दै बुद्धचोक, अमरसिंहचोक, हस्पिटलचोक, माटेपानी, शितलादेवी, रानीपौवा, फुलबारी, मणिपाल, महेन्द्रपुल, सिद्धार्थचोक लगायत स्थानमा पुगेको थियो । प्यानलका पदाधिकारीका आकांक्षीको हातमा डायरी छुट्दैनन् । व्यावसायीले सुनाएका समस्या र गुनासा टिपिहाल्छन् । उद्योगी व्यावसायीहले घरभाडा, बैंकको ब्याज लगायत समस्या सुनाएका थिए ।

घरदैलोका क्रममा समस्या सुनाउने मात्र होइन टिमलाई राम्रो भन्नहरु पनि भेटिएका छन् । श्रीकृष्ण मेसिनरी स्टोर्सका सञ्चालक मोहनप्रसाद ढकालले युवा र मिश्रित टिम बनेकाले अवसर पाए काम गरेर देखाउने विश्वास व्यक्त गरे । उनको समूहबाट बरिष्ठ उपाध्यक्षमा हरिहर सापकोटा, उद्योग उपाध्यक्षमा देवेन्द्र केसी, वाणिज्य उपाध्यक्षमा कुमारी मुना बास्तोला, महासचिवमा केशव बहादुर खत्री, कोषाध्यक्षमा हरिराज पन्त र उपमहासचिवमा हर्कबहादुर अधिकारी (मिरज) उम्मेद्वार छन् । यस्तै, सदस्यहरुमा भरत केसी, कृष्ण प्रसाद कोइराला, धर्मेन्द्रकुमार बाटाजु, माधव बस्ताकोटी, उदयबहादुर केसी (लाहुरे दाइ), दिलिपकुमार श्रेष्ठ, दुर्गा रन्जित श्रेष्ठ, हिमनिधि लौडारी र महेन्द्र पौडेलले उम्मेद्वारी घोषणा गरेर चुनावी प्रचारमा लागिरहेका छन् ।



Tags: