पोखराका सडकबाट छाडा चौपाया नियन्त्रण सुरु, शुक्रबारबाट ढल तथा नाला सफाई अभियान

-


     क्लिक गण्डकी     
     जेठ २६ गते २०७९ मा प्रकाशित


पोखराका सडकबाट छाडा चौपाया नियन्त्रण सुरु, शुक्रबारबाट ढल तथा नाला सफाई अभियान

पोखराका सडकबाट छाडा चौपाया नियन्त्रण सुरु, शुक्रबारबाट ढल तथा नाला सफाई अभियान

पोखरा, २६ जेठ/ पोखराका सडकलाई छाडा चौपाया मुक्त गर्नका लागि सडकमा रहेका छाडा चौपाया संकलन कार्य सुरु भएको छ । पोखरा महानगरका वरिष्ठ कानून अधिकृत नारायण प्रसाद शर्माले मेयर धनराज आचार्यको निर्देशन अनुसार बिहीबार देखि सडकमा देखिएका छाडा चौपाया हटाउने अभियान सुरु भएको जानकारी दिएका हुन् ।

उनले बिहीबार सेतीवारीका सडकमा रहेका छाडा चौपाया संकलन गरिएको जानकारी दिए । बिहीबार ३७ वटा छाडा चौपाया संकलन गरेर कान्जीहाउसमा राखिएको छ । शुक्रबार पनि यो अभियान जारी रहने वरिष्ठ कानुन अधिकृत शर्माले जानकारी दिए । ‘मेयरसावको निर्देशन अनुरुप पोखराका सडकलाई छाडा चौपाया मुक्त गर्ने प्रयास स्वरुप हामीले बिहीबार ३७ वटा छाडा चौपाया संकलन गरे कान्जी हाउसमा राखेका छौं । शुक्रबार पनि यो अभियान जारी रहन्छ । यो अभियानमा नगरप्रहरी विहान चार बजेबाट नै खटिएको छ’ उनले भने ।

यसरी संकलन गरिएका छाडा चौपाया पोखरा १४ स्थित बाच्छेबुढुवामा रहेको गौशालामा लगिनेछ । ल्याण्डफिलसाईडसंगै रहेको गौशालामा हाल १५०को हारारहारीमा छाडा चौपाया छन् । करिव ३५ रोपनी क्षेत्रफलमा चौपायाको चरन क्षेत्र र १० रोपनी क्षेत्रमा तारबार लगाएर छानाको व्यवस्थापन गरिएको छ । वरिष्ट कानुन अधिकृत शर्माले सडकमा छाडा चौपाया देखिए वडाहुँदै महानगरमा खबर गर्न समेत नगरवासीलाई आग्रह गरेका छन् ।

यसैबीच पोखरामा शुक्रबार बाट ढल र नाला सफाई अभियान सुरु हुनेभएको छ । महानगरका मेयर धनराज आचार्यको सक्रियतामा सडक विभाग र पोखरा महानगरपालिकाले संयुक्तरूपमा ढलहरू सफा गर्ने अभियान शुक्रबार सुरु हुनेभएको हो । तीन दिनसम्म चल्ने उक्त अभियानमा साथ दिन संघ सस्थाहरु र नगरवासीलाई मेयर आचार्यले आह्वान गरेका छन् ।

पोलिथिनजन्य पदार्थबाट भएको फोहोरको कारणले अत्याधिक वर्षाका बेला ढल बूझिनुका साथै बाटोमा पानीको बहाव बढी भई दुर्घटना समेत हुनेगरेको भन्दै ढल तथा नालाको सरसफाईमा जुट्न नगरवासीलाई उनले आह्वान गरेका हुन् । अभियान शुक्रबार बिहान ७ बजे पोखराको पृथ्वीचोक स्थित ट्राफिक प्रहरी कार्यालयबाट आरम्भ हुनेछ । अभियानमा कास्कीका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय प्रमुख लगायतको सहभागिता रहनेछ ।



Tags: