धनराज आचार्य
पोखरा, १२ जेठ/ पोखराका नवनिर्वाचित मेयर धनराज आचार्यले तीनवटा निर्णय गर्दै बिहीबार पदभार ग्रहण गरेका छन् । आचार्यले न्यून आय भएका बच्चालाई पोषण भत्ता पाउने, पोखरा चिनाउने सिम्बोल अफ पोखरा बनाउन आह्वान गर्ने र पोखरालाई पर्यटकीय राजधानी बनाउन सरकारलाई अनुरोध गर्ने निर्णय गरेका छन् ।
पोषण भत्ताका लागि वडा कार्यालयको सिफारिसको आधारमा भत्ता दिने घोषणा गरे । भत्ता कति समयमा दिने, कति दिने भन्ने आगामी बजेटमा घोषणा हुने उनले बताए । पोखरा चिनाउने सिम्बोल अफ पोखरा बनाउन आह्वान गर्दै बजेटमा व्यवस्था गरेर उत्कृष्टलाई २ लाख रुपैयाँ पुरस्कार दिइने मेयर आचार्यले बताए ।
यसका लागि एक महिनाको समय हुनेछ । पोखराको मौलिक पहिचान झल्कने ‘पोखरा स्मारक’को थ्रीडी सहितको डिजाइन बनाई प्रस्ताव प्रस्तुत गर्न आह्वान गरे । पोखरालाई चिनाउने योजनाअन्तर्गत पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न संघ सरकारलाई लिखित आग्रह पठाउने बताए । पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्न नेपाल सरकारबाट निर्णय गराउन मन्त्रिपरिषद्समक्ष प्रस्ताव पठाउने बताए ।
बैशाख ३० गत भएका स्थानीय निर्वाचनमा एमालेका कृष्णबहादुर थापालाई हराउदै आचार्य मेयर निर्वाचित भएका थिए । उपमेयर मञ्जुदेवी गुरुङले अपांगता भएका बालबालिकालाई शिक्षामा समान पहुँच स्थापित गर्ने कार्यक्रम सञ्चालन गर्ने, महिला हिंसाविरुद्ध पुरुषको ऐक्यबद्धताका लागि महिला पुरुष सम–सचेतना कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेकी छन् ।
यस अगाडी पोखराका मेयर, उपमेयरसहित वडाध्यक्ष र सदस्यले बिहीबार नै शपथ तथा पदभार ग्रहण गरेका छन् । मेयर धनराज आचार्यलाई मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराका मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले शपथ गरे भने उपमेयर, वडा अध्यक्ष र सदस्यलाई आचार्यले शपथ ग्रहण गराए ।