
पोखरा महानगर पाँचदलीय गठबन्धनको घोषणापत्र फेवा टु बेगनास मेट्रो रेल
पोखरा, १६ बैशाख/ कास्कीका पाँचदलीय गठबन्धनले बिहीबार पोखरामा घोषणापत्र सार्वजनिक गर्दै फेवा टु बेगनास मेट्रो चलाउने उल्लेख गरेको छन् । पाँचदलीय गठबन्धनका मेयरका उम्मेदवार धनराज आचार्यले फेवा टु बेगनास लेक १० किलोमिटर दुरी रहेको र मेट्रो चलाउन सम्भव रहेको बताए । उनले मेट्रो चलाउन आवश्यक पैसा नभए पिपिए मोडलमा भए पनि निमार्ण गर्न सकिने उल्लेख गरे ।
त्यसै गरी घोषणा पत्रमा झण्डै तीन दशकदेखि अघि बढेको पोखरा रिङरोडको योजनालाई पनि प्राथमिकतामा राखिएको छ । रिङरोडको लागि पोखरा उपत्यका नगरविकास समितिले गरेको अध्ययन अनुसार ८४ किलोमिटर रिङरोड बन्ने सम्भाव्य अध्ययनले देखाएको छ । उनले रिङरोडलाई मध्यपहाडी लोकमार्ग र सिद्धार्थ राजमार्गसँग जोड्दै बाईपासको रुपमा प्रयोग गर्न सकिनेगरी बनाइने बताए । बाईपास रोडले पोखरा बजारभित्र सवारी साधनको चाप घटाउने उनको योजना छ ।
उनले बर्षौदेखि पोखरा–९ स्थित बसपार्क बन्न सकेको छैन् । त्यो बसपार्क पनि राजनीतिक दलको चुनावी अजेण्डा बन्दै आएको छ । मेयरका उम्मेदवार आचार्यले पोखरा–९ स्थित बसपार्कलाई सिटी बसपार्कको रुपमा विकास गर्ने र ठूला सवारी साधनको लागि लेखनाथ क्षेत्रमा बसपार्क बनाउने योजना सुनाए ।
उनले फोहोरलाई मोहोरमा परिणत गर्ने योजना पनि सुनाए । उनले अन्तराष्ट्रिय विमानस्थल सञ्चालनसँगै फाष्ट ट्रयाक सडक निर्माणमा समेत आफनो घोषणापत्रमा उल्लेख गरेका छन् । अहिले भईरहेको विमानस्थल नजिकैको मुस्ताङचोकदेखि कोत्रेसम्म फाष्ट ट्रयाक बनाउने योजना अघि सारे ।
घोषणापत्रमा फेवाताल सौन्दर्यकरण गर्ने उल्लेख गरेका छन् । घोषणापत्रमा पोखराको सडक अझैपनि ६०९ किलोमिटर सडक खण्ड धुलो भएको उल्लेख गर्दै आगामी निर्वाचनपछि पुरै कालोपत्रे गर्ने योजना अघि सारे । ६३४ किलोमिटर कालोपत्रे सडक रहेको उल्लेख गर्दै उनले ११० किलोमिटर कंक्रिट, ८ किलोमिटर मिश्रित र १०३ किलोमिटर ग्राभले सडक खण्ड रहेको जानकारी दिए । आगामी पाँच वर्षभित्र १५३५ किलोमिटर सडक खण्ड कालोपत्रे गर्ने योजनामा उल्लेख गरे ।
घोषणा पत्र सार्वजनिक कार्यक्रममा बोल्दै उपमेयरका उम्मेदवार कोपिला रानाभाटले गठबन्धन स्थानीय तहको निर्वाचनमा मात्रै नभई प्रदेश र संघीय निर्वाचनसम्म जाने वातावरण निर्माण गर्नका लागि अहिलेको गठबन्धन बिजयी हुनुपर्ने बताइन् । उनले आफूपनि भ्रष्टाचार नगर्ने र अरुलाईपनि गर्न नदिने दृढता व्यक्त गरिन् ।