![कृष्ण थापा, मञ्जुदेवी गुरुङ](https://clickgandaki.com/wp-content/uploads/2022/04/krishna-and-manju-1024x668.jpg)
कृष्ण थापा, मञ्जुदेवी गुरुङ
पोखरा, १२ वैशाख/ पार्टीबाट विरोधका स्वर सुनिएपछि नेकपा एमालेले पोखराको मेयर उम्मेदवार फेरबदल गरेको छ । एमाले सचिवालय बैठकले यसअघि दीपक पौडेललाई मेयर टुंगो लगाएकोमा त्यसको दुई दिन पछि कृष्ण थापालाई उम्मेदवार बनाएका छ ।
गण्डकी प्रदेश सांसद समेत रहेका कृष्ण थापा तत्कालीन पोखरा उपमहानगरपालिकाका मेयर थिए । यसअघि सचिवालय बैठकले प्रदेश सांसदलाई टिकट नदिने निर्णय गरे पनि दीपक पौडेलमाथि सुन चोरीको काण्डमा विवादित बनेपछि पार्टी पंक्तिबाटै विरोध सुरु भएको थियो । यस्तै उपमेयर दोहोरिएकी मञ्जुदेवी गुरुङले आफू मेयरको पनि उम्मेदवार नबने यसअघि घोषणा गरेकोमा पार्टीको निर्णयप्रति आपत्ति जनाउँदै आएकी थिइन् ।
स्रोतका अनुसार आफूभन्दा जुनियरलाई मेयर टिकट दिएर आफ्नो योगदानको अवमूल्यंन गरेको मञ्जुदेवीको रोष थियो । उनले आइतबार सामाजिक सञ्जालमार्फत आफू उपमेयर नदोहोरिने घोषणा गरेकी थिइन् । तर कृष्ण थापा मेयर र मञ्जुदेवी उपमेयर टुंगाएपछि सोमबार मध्यान्ह मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दुवै उम्मेदवारी दिन जाने तयारीमा रहेको एमाले कास्कीले जनाएको छ ।
यसैबीच, आफ्नो चरित्र हत्या गरिएको भन्दै दीपक पौडेलले आपत्ति जनाएका छन् । उनले राजनीतिक जीवनकै अवमूल्यंन गरिएको भन्दै कानुनी उपचार खोज्ने बताए । ढिलै भए पनि मेयरको टिकट दिइएकोमा कृष्ण थापाले खुसी व्यक्त गरेका छन् । पार्टीले मलाई नै टिकट दिने निर्णय गरेको छ । ढिलै भए पनि निर्णय सच्चायो, उनले भने ।
सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्यले उम्मेदवारी दिंदै छन् । तर उपमेयरमा अझै पनि नाम टुंगिएको छैन । नेपाली काँग्रेस कास्कीले पोखराको मेयर आफूले पाउनुपर्ने दाबी गरिरहँदा सत्तागठबन्धनका शीर्षनेताले नै समाजवादीलाई मेयर दिएपछि काँग्रेस कास्की रुष्ट छ ।
आइतबार साँझ मात्रै निर्णय गरेर उसले पोखराको हकमा केन्द्रकै निर्णय माने पनि कास्कीका अन्य ४ पालिकामा ‘मित्रवत् प्रतिस्पर्धा’ गर्ने भन्दै गठबन्धन नगर्ने सार्वजनिक गरिसकेको छ । मनोनयनको दोस्रो तथा अन्तिम दिन सोमबार दलहरु जसरी पनि नाम टुंगाउने कसरतमा छन् । पोखराको मेयरमा पहिलो दिन आइतबार ११ र उपमेयरमा ४ जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिनेमा साना दल तथा स्वतन्त्रका हुन् ।