पोखरामा चैत २३ देखी प्याराग्लाइडिङ प्रतियोगिता हुने
पोखरा, १७ चैत/ पोखरामा चैत अन्तिम साता २० औं नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप हुने भएको छ । नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजना तथा नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ र नेपाल प्याराग्लाइडिङ पाइलट क्लबको सहयोगमा प्रतियोगिता हुन लागेको हो ।
चैत २३ देखी शुरु हुने प्रतियोगिता २५ गते सम्म सञ्चालन हुने नेपाल हवाई खेलकुद संस्था (ना) अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए । यस वर्ष ‘एक्युरेसी’ तर्फ मात्रै प्रतिष्पर्धा प्रतियोगिता हुने बिहीबार पोखरा आयोजीत पत्रकार सम्मेलनमा उनले बताए । प्याराग्लाइडिङको एक्युरेसी विद्यातर्फ ल्याण्डिङ् ओभरअल, महिलातर्फ ल्याण्डिङ्, टिम ल्याण्डिङ्, एक्युरेसी टेन्डम, एक्युरेसी टेन्डम र एयर सो, कस्टुम विधामा प्रतियोगिले प्रतिस्पर्धा गर्ने छन् ।
प्याराग्लाइडिङको एक्युरेसी विद्यातर्फ विभिन्न चार वटा इभेन्टमा महिला तथा पुरुष खेलाडीले सहभागिता जनाउने छन् । प्रतिष्पर्धा अन्तर्गत ल्याण्डिङ् ओभरअलको प्रथम, द्वितिय, तृतिय र सान्त्वना तर्फ हुने खेलाडीले क्रमश नगद ५०, ३०, २० र १० हजार प्राप्त गर्ने प्रतियोगिता संयोजक बलराम आर्चायले जानकारी दिए । महिलातर्फ ल्याण्डिङ् विद्या अन्तर्गत प्रथम, द्वितिय, तृतिय र सान्त्वना तर्फ हुने खेलाडीले क्रमश नगद ३०, २०, १० र ५ हजार प्राप्त गर्नेछन् । त्यसै गरी टिम एक्युरेसी तर्फ पहिलो, दोस्रो, तेस्रोले क्रमश नगद २० हजार, १५ हजार र १० हजार प्राप्त गर्ने छन् ।
त्यसै गरी अन्य विद्यातर्फको एक्युरेसी टेन्डम पुरुष अन्तर्गत प्रथम, द्वितिय, तृतिय र सान्त्वना तर्फ हुने खेलाडीले क्रमश नगद ३०, २०, १० र ५ हजार प्राप्त गर्ने छन् । एयर सो तर्फ वेष्ट एक्रोबेटिकमा प्रथम हुनेले नगद १५ हजार, दोश्रोले नगद १० हजार र तेश्रो हुनेले नगद ५ हजारका साथमा मेडल र प्रमाणपत्र गर्नेछन् । त्यसै गरी वेष्ट कस्टुमतर्फ समेत पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा वेष्ट कस्टुमतर्फ नगद १० हजार प्रदान गरिने छ ।
प्रतियोगितामा भाग लिन चैत २० गते सम्म अनलाईनबाट नाम दर्ता गर्न सकिने प्रतियोगिताका निर्णायक योगेश भट्टराईले जानकारी दिए । उनले अहिले नेपाली र विदेशीले अनालाइनबाटै नाम दर्ता गरीरहेको बताए । प्रतियोगितामा विदेशीका संख्या भन्दा नेपाली नै बढिले सहभागीता जनाउने बताए ।
नेपालमा अहिले करिब ५ जना प्याराग्लाइडिङ पाइलटहरु रहेको संस्थाका प्राविधिक तर्फका उपाध्यक्ष अनिल केसीले बताए । उनले प्रतियोगिता सम्पन्न गर्न करिब ३० लाख खर्च लाग्ने बताए । कोरोनाका कारण दुई वर्ष देखि स्थगित प्रतियोगिता हुन सकेको थिएन ।