पोखरा, २९ फागुन ।
गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाको आर्थिक सहयोगमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नं ११ रानीपौवा स्थित मागदर्शन महिला समूहले आयोजना गरेको महिलाहरुको स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सर सम्बन्धि परिक्षण सम्पन्न भएको हो । कार्यक्रमबाट १६१ जनाले सेवा लिएका छन् ।
मन्त्री थापाले गण्डकी प्रदेश सभा सदस्य (सांसद) हुँदादेखि नै आफुले पाउने तलब, भत्ता बापतको रकम विभिन्न सामाजिक कार्यमा खर्च गर्दै आउनुभएको छ । मन्त्री भएपश्चात पनि सो क्रम जारी छ । कार्यक्रमलाई उदघाटन गर्दै मन्त्री थापाले आफु नागरिकको समस्यामा सँधै साथमा रहेको उल्लेख गर्नुभयो । नागरिकको आधारभूत आवश्यकतालाई परिपूर्ति गर्ने सवालमा आफु सँधै प्रतिबद्ध रहेको भनाई उहाँको छ ।
‘नागरिकको सबै भन्दा महत्वपूणर् आधारभूत आवश्यकत्ता भनेकै स्वास्थ्य हो । मानिस स्वस्थ रहे नै अन्य क्रियाकलापमा अगाडि बढ्न सक्छ । समाज विकासको आधार हो स्वास्थ्य क्षेत्र । आज आफुले प्रदेश सरकारबाट पाउने तलब,भत्ता बापतको रकम स्वास्थ्य क्षेत्रमा खर्च गर्न पाउँदा खुशी लागेको छ ।’, उहाँले भन्नुभयो ।
मन्त्री थापाले आफुले निम्न आयस्तर भएका महिलाहरुलाई लक्षित गर्दै उक्त कार्यक्रमको आयोजना गरेको जानकारी गराउनुभयो । उहाँले गण्डकी सरकारले पनि क्यान्सर तथा पाठेघर मुखको क्यान्सरबाट पीडित महिलाहरुलाई उपचारका लागि सहयोग गर्दै आएको उल्लेख गर्नुभयो । उहाँले एक लाख रुपैयाँ संघ सरकार र ५० हजार रुपैयाँ प्रदेश सरकारले उपचारका लागि उपलब्ध गराउँदै आएको बताउनुभयो । मन्त्री थापाले आगामी दिनमा समेत यस्ता कार्यक्रमको निरन्तरताको कामना गर्नुभएको छ ।
कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नं ११ का वडाध्यक्ष मोहन बास्तोलाले मार्गदर्शन महिला समूह समाजका लागि एक उदाहरण बनेको उल्लेख गर्नुभयो । न्यून आयस्तर भएका महिलाहरुका लागि यस्ता कार्यक्रम निरन्तर हुनुपर्ने आवश्यकतालाई उहाँले औंल्याउनुभएको छ । वडाले समेत स्वास्थ्य क्षेत्रमा समाजका विभिन्न सामाजिक संस्थासँग समन्वय गरी काम गर्ने बताउनुभएको छ ।
अंशु शेर्पाको संयोजनामा सम्पन्न भएको कार्यक्रममा नेपाली काँग्रेस पोखरा महानगरपालिका वडा नं ११ का सभापति हरिप्रसाद बास्तोला, स्थानीय समाजसेवी प्रेम कर्माचार्य लगायतको उपस्थिति थियो ।