
पोखरामा सडक किनाराको रुख काट्नेलाई जरिवाना
पोखरा, १२ मंसिर/ पोखरा महानगरपालिकाले न्युरोडको सडक किनारमा रहेका रुख काट्नेलाई जरिबाना गरेको छ । पोखरा–८ न्युरोडमा सडक छेउमा हुर्किएको रुख काट्ने दुई पसलेलाई कारबाही गरेको हो ।
फुटपाथमा हुर्किएको रुख काट्ने गिटार सप र स्काइ फेसनलाई महानगरपालिकाको आर्थिक ऐन, २०८० मा भएको व्यवस्थाअनुसार कारबाही गरिएको महानगरपालिकाले जनाएको छ । पसल छेकेको भन्दै अनुमतिविना रुख नै काटेका उनीहरूलाई १५ हजार रुपैयाँका दरले जरिबाना गरिएको नगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले जानकारी दिए ।
महानगरको आर्थिक ऐनमा सडक छेउको फुटपाथमा लगाइएका रुखको हाँगा अनुमतिविना कटान गरेमा प्रतिहाँगा पाँच हजार र रुख नै काटेमा १५ हजार रुपैयाँ जरिबाना हुने व्यवस्था गरिएको छ ।
महानगरपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै पोखरामा एक घर दुई बिरुवाको नीति लिएको छ । चालु वर्षमा दुई लाख बिरुवा रोप्ने पनि घोषणा गरिएको छ । महानगरले वृक्षरोपण कार्यलाई अभियानका रूपमा सञ्चालन गर्दै आएको छ ।
सडक छेउमा लगाइएका बिरुवाको संरक्षण गर्न नगरवासीमा मेयर धनराज आचार्यले अनुरोध गरेका छन् । पर्यावरणको सन्तुलनमा रुख बिरुवाको निकै महत्त्वपूर्ण भूमिका रहने जनाउँदै आफ्ना घर अगाडिका बिरुवा तथा फूलहरूको संरक्षणका लागि उनले अनुरोध गरेका हुन् ।







