
पोखराको सेतीमा १ अर्बको लागतमा सिग्नेचर पुल निमार्ण शुरु
पोखरा, २५ कात्तिक/ पोखराको सेती नदीमा बन्ने ‘सिग्नेचर’ पुलको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले शिलान्यास गरेका छन् । पृथ्वी राजमार्ग अन्तर्गत पर्ने पुलको पुल निर्माणको कार्य २०८२ भदौ २१ गते भित्र सम्पन्न गर्ने गरी रसुवा कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको छ ।
मन्त्री ज्वालाले विकास निर्माणका काममा समयमा सम्पन्न नहुने समस्यालाई चिदै समयमै पुल निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिए । उनले मन्त्रालय, स्थानीय सरकारबाट आवश्यक सहयोग हुने बताए ।
मुग्लिन–पोखरा राजमार्ग सुधार चरण १ योजना अन्तरगत पुल निर्माण सुरु गरिएको हो । सेती नदीमा अहिले रहेको पुलको दायाँ बायाँ दुई/दुई लेनका दुई वटा पुल बन्ने सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले जानकारी दिए । राजमार्ग ६ लेनमा विस्तार हुदै छ सोही अनुसार सेती नदीमा पनि छ लेनको पुल बन्ने महानिर्देशक ढकालले बताए ।
निर्माण कम्पनी रसुवा कन्स्ट्रक्सनका साइट इन्जिनियर सुदर्शन देवकोटाले तोकिएको समय भित्र पुल निर्माण सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले निर्माण स्थलमा भएका भौतिक संरचना हटाई साइट क्लियर गरिदिन पनि आग्रह गरे ।
‘केबल–स्टेड’ प्रविधिका दुवै पुलको लम्बाई १९०/१९० मिटर रहने छ । २०७९ साउनमा ठेक्का सम्झौता भए पनि डिजाइन स्वीकृत गर्न र निर्माणस्थल क्लियर नहुदा ढिलो गरी काम सुरु भएको देवकोटाले बताए ।
पुलको लागत भ्याट सहित १ अर्ब ७ करोड रहेको छ । एसियाली विकास बैंकको आर्थिक सहयोगमा राजमार्ग स्तरोन्नतीको काम दुई खण्डमा विभाजन गरेर निर्माण भइरहेको छ । राजमार्ग स्तरोन्नीको काम भने निकै सुस्त गतिमा भइरहेको छ । पुल निर्माणको कार्य २०८१ भदौ २१ गते भित्र सम्पन्न गर्ने गरी रसुवा कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको छ । अहिले भइरहेको पुलको दायाँबायाँ एक–एक वटा पुल निर्माण हुनेछ ।







