
राष्ट्र संघका महासचिव गुटेरेस पोखरामा, फेवातालमा बोटिङ, महादेवको मूर्ति अवलोकन
पोखरा, १३ कात्तिक / संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस सोमबार पोखरा आएका छन् । महासचिव गुटेरेस नेपाली सेनाको जहाजमार्फत सोमबार दिउँसो पोखरा विमानस्थलमा अवतरण गरे ।
गुटेरेसलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे सहितको टोली विमानस्थलमा स्वागत गरेका थिए ।
विमानस्थलमा परिसरमा पोखराका विभिन्न संघसंस्थाले बाजागाजा सहित स्वागत गरेका थिए । विमानस्थलबाट लेकसाईडस्थित फिस्टेल लजमा बसेका छन् । उनी सोमबार साझँ फेवातालमा डुंगा सयर गरे । तालमा रहेको मोटरबोट चढेर उनले तालको परिक्रमा गरेका हुन् ।
यसअघि उनले पोखरा २२ पुम्दीभुम्दीमा रहेको विशाल महादेवको मूर्ति अवलोकन गरे । त्यहाँबाट उनले पोखरा बजार, फेवाताल र हिमश्रृंखला हेरेर फर्किएका थिए । गुटरेस मंगलबार बिहान सेनाको हेलिकोप्टरबाट अन्नपूर्ण बेसक्याम्प जाने छन् । जलवायु परिवर्तनको असरबारे बुझ्न र प्रत्यक्ष अनुभव गर्न उनी एविसी जान लागेका हुन् ।
महासचिव गुटेरेसले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असरका बारेमा स्थलगत अनुगमन गर्ने कार्यक्रम छ । आधार शिविरबाट महासचिव गुटरेस ७ः३० मा पोखरा विमानस्थल फर्किनेछन् । मंगलबार बिहान ८ः१५ बजे पोखराबाट लुम्बिनी प्रस्थान गर्ने तालिका छ ।







