
गण्डकी प्रदेशसभा
पोखरा, १ कात्तिक/ गण्डकी प्रदेशका मन्त्री, सांसद र तीनका स्वकीय सचिवहरुले दसैँ भत्ता बुझेका छन् । प्रदेशसभाबाट सभामुख र उपसभामुखसहित ५३ सांसद र ५२ जना स्वकीय सचिवहरुको दसैँभत्ता उनीहरुको बैंक खातामा जम्मा भएको संसद सचिवालयले जनाएको छ ।
केही स्वकीय सचिवहरु नियुक्त भएको ६ महिना पूरा नभएका कारण दसैँ खर्च नपाएको उपसचिव प्रेम सुवेदीले जानकारी दिए । उनका अनुसार प्रदेशसभाबाट पारित भएको प्रदेशसभाका पदाधिकारी र सदस्यहरुको पारिश्रमिक सम्बन्धि कानुनी स्केलका आधारमा एक महिनाको तलब बराबर चाडपर्व भत्ता दिइएको बताए ।
गण्डकीका सभामुखलाई ६३ हजार ४ सय ८० मासिक तलब छ भने उपसभामुखलाई ६० हजार तलव छ । विपक्षी दलका नेताले सोही अनुसार तलब पाउँछन् । दलका नेतालाई ५९ हजार ५ सय, उपनेतालाई ५८ हजार ८ सय ४० तलब छ ।
सभामुख र उपसभामुख सहित सांसदहरुले २९ लाख ७ हजार भत्ता बुझेका छन् । उनीहरुका स्वकीय सचिवको खातामा १७ लाख ३२ हजार निकासा गएको छ । यता मुख्यमन्त्रीसहित मन्त्री र उनीहरुका स्वकीय सचिवले पनि दसैँ बोनस पाएका छन् ।
मुख्यमन्त्रीले ७२ हजार ७ सय ३० र मन्त्रीहरुले ६२ हजार ३ सय २० मासिक तलब पाउँछन् । यसरी हिसाब गर्दा प्रदेश सरकार अन्तर्गत मुख्यमन्त्री र मन्त्रीहरुलाई मासिक ४ लाख ४६ हजार ६ सय ५० रुपैयाँ पारिश्रमिक दिनुपर्छ । प्रदेश सभाको एउटा बैंठक बस्दा १ लाख २० हजार खर्च हुने गरेको उनले बताए ।





