
पोखरामा मोडिफाई गरिएका २ दर्जन मोटरसाइकल चालक कारबाही
पोखरा, २३ असोज/ कास्की प्रहरीले स्वरुप परिवर्तन (मोडिफाइ) गरिएको मोटरसाइकललाई कारवाही थालिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वयमा कास्की प्रहरीले पोखरा विभिन्न ठाउँबाट २ दर्जन बढी कारवाही गरेको हो ।
पर्व नजिकिँदै गर्दा प्रहरीले विशेष सुरक्षा योजना अन्तरगत मोडिफाइ सवारी साधन माथि निगरानी बढाएको छ । आइतबारमात्रै करिब २ दर्जन बढी मोडिफाइड मोटरसाइकललाई नियन्त्रणमा लिइएको कास्की प्रहरीका प्रवक्ता तथा डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।
मोडिफाइ गरेका केही मोटरसाइकलहरु नियन्त्रणमा रहेको बताउँदै पहिलेकै अवस्थामा परिवर्तन गराएर अभिभावकको रोहबरमा बुझाउने प्रवक्ता विकले बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा प्रहरी वरिष्ठ नायव निरीक्षक शिवप्रसाद पाठकका अनुसार सबैभन्दा बढी मोडिफाइ गर्ने साधनमा क्रस फायर र बुलेट भएको बताए । उनले मोटरसाइकल मोडिफाइ गर्ने सवारी धनिलाई मात्रै नभएर ग्यारेजलाई समेत कानुनी कारवाहीको दायरामा ल्याउने बताए ।
कारबाहीबाट पछिल्लो ४ आर्थिक वर्षमा कुल ५ करोड ६८ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको उनले जानकारी दिए । चालु आर्थिक वर्षमा ४ सय ४८ वटा मोटरसाइकललाई कारवाही गर्दा ३ लाख २७ हजार, रुपैयाँ संकलन भएको छ ।
यस्तै गत आर्थिक वर्ष २०७९/०८० मा १ हजार ८ सय ४५ वटा मोडिफाइ भएका सवारीलाई कारवाही गर्दा २ करोड ६२ लाख ८ हजार ५ सय रुपैयाँ जम्मा भएको थियो ।
आर्थिक वर्ष ०७८/०७९ मा १ हजार १ सय ९६ वटा सवारीलाई कारवाही गर्दा १ करोड १६ लाख २ हजार र आर्थिक वर्ष ०७७/०७८ मा ९ सय ८९ वटा सवारीलाई कारवाही गर्दा ९५ लाख १ हजार राजश्व संकलन भएको उनले बताए ।







