
सूर्यदर्शन सहकारी ठगी प्रकरणः कुमार रम्तेल थुनामा, अन्यको खोजी
पोखरा, २३ असोज/ सूर्यदर्शन सहकारी संस्था ठगी प्रकरणमा पक्राउ परेका सहकारीका कोषाध्यक्ष कुमार रम्तेल पुर्पक्षका लागि थुनामा परेका छन् । आइतबार जिल्ला अदालत कास्कीमा भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश केशवप्रसाद बास्तोलाको इजलासले रम्तेललाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।
सहकारीमा बचतकर्ताले बचत गरेको रकम फिर्ता गर्न नसकी सहकारी बन्द भएको तथ्यलाई स्वीकार गरी बयान गरेको देखिएको, जाहेरी दरखास्त, घटना विवरण कागज, बरामती मुचुल्का, प्रतिवादीको मौकाको बयान र नियामक निकायको वित्तीय स्थितिका सम्बन्धमा विश्लेषणात्मक प्रतिवेदन समेतका आधार, कारण र प्रमाणबाट यी प्रतिवादी वारदातमा संलग्न रहेन छन् भन्ने भन्न मिल्ने नदेखिँदा’ प्रतिवादीलाई थुनामा पठाउने,’ भन्ने व्यहोराको आदेश दिइएको हो ।
थुनछेक बहसमा नेपाल सरकारको तर्फबाट जिल्ला न्यायाधिवक्ता गोपालप्रसाद ढकाल, जाहेरवालाको तर्फबाट अधिवक्ताहरु नारायणप्रसाद शर्मा, युवराज पराजुली, विष्णुप्रसाद अधिकारीले बहस गरेका थिए । यस्तै, प्रतिवादी रम्तेलको तर्फबाट वरिष्ठ अधिवक्ता कृष्णबहादुर थापा र अधिवक्ता ईश्वर चिलुवालले बहस गरेको अदालतका सूचना अधिकारी सुरज अधिकारीले बताए ।
सहकारी ऐन, २०७४ को दफा १२२ बमोजिम सहकारी कसूर मुद्दामा जिल्ला सरकारी वकिल कार्यालय कास्कीले बिहीबार १९ जनालाई प्रतिवादी बनाई अभियोग दायर गरेको थियो । पक्राउ पुर्जी जारी भएकामध्ये हालसम्म फरार सहकारीका पूर्व अध्यक्ष एवं संस्थापक गितेन्द्रबाबु (जिबी) राईसहित १८ जनाको हकमा अदालतले म्याद जारी गर्नेछ ।
यो मुद्दामा १ अरब ११ करोड ३४ लाख ४३ हजार बिगो भराई बिगोबमोजिम जरिवाना र ८ देखि १० वर्षसम्म कैद सजाय माग दाबी छ । जसमा १ हजार ३५ जनाको उजुरी परेको उल्लेख गर्दै मुद्दा दायर गरिएको जिल्ला न्यायाधिवक्ता ढकालले बताए । पोखरा–३, तेर्सापट्टीमा कार्यालय रहेको सूर्यदर्शन सहकारीले गत वर्षको साउनदेखि बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि ठगी प्रकरण बाहिरिएको हो । आइतबार थुनछेक बहस हुने भएपछि जिल्ला अदालत परिसरबाहिर पिडितहरुले धर्ना दिएका थिए ।
अभियोगमा सञ्चालक समिति कोपाध्यक्ष रम्तेलसहित पूर्व अध्यक्ष एवं संस्थापक गितेन्द्रबाबु (जिबी) राई, सञ्चालक समिति अध्यक्ष थानबहादुर बुढामगर, उपाध्यक्ष कैलाशकुमार दर्लामी, सचिव धीरजकुमार दास, सदस्य हेमन्त अधिकारी, सदस्य प्रमोद भट्टराई, लेखा समिति संयोजक सागर केसी, लेखा समिति सदस्य दिनेश रोका, अर्का सदस्य ललिता तामाङ, पूर्व अध्यक्ष एवं संस्थापकहरु पूर्व अध्यक्ष भूपेन्द्र राई, अनुज नकर्मी, सुरज श्रेष्ठ, शिवबहादुर गुरुङ, भविश्वर अर्याल, आइस्मा गुरुङ, कविता तामाङ, लेखा अधिकृत सृष्टि मानन्धर र कर्जा अधिकृत बुद्धि गुरुङलाई प्रतिवादी बनाइएको छ । अरुको खोजी कार्यभई रहेको प्रहरीले जानकारी दिएको छ ।





