
पोखराको लामाचौरमा राष्ट्रिय महिला तथा पुरुष भलिबल भदौ अन्तिममा
पोखरा, २४ भदौ/ पोखराको लामाचौरमा रहेको नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा भदौ २९ गते देखी दशौं संस्करणको ‘लामाचौर कप’ राष्ट्रिय महिला भलिबल प्रतियोगितामा चार क्लबले सहभागिता जनाउने भएका छन् । लिग रोविनमा खेलाईने प्रतियोगितामा काठमाडौंको न्यु डायमण्ड युथ स्पोर्टस क्लब, शसस्त्र प्रहरी बल, नेपाल पुलिस क्लब र बुटवलको न्यु एभरेष्ट भलिबल क्लबले प्रतिस्पर्धा गर्ने छन् ।
पुरुष तर्फको प्रतिस्पर्धामा भने पाँच टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । बुटवलको मणिमुकुन्द भलिबल क्लब, शसस्त्र प्रहरी बल, नेपाल पुलिस क्लब, गल्कोट भलिबल क्लब बाग्लुङ र गण्डकी प्रदेशको टोलीको सहभागिता रहने आईतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । ‘दुवै प्रतिस्पर्धा लिगको आधारमा खेलाईने छ । महिलाको लिग रोविनमा हुने छ भने पुरुषको अंकको आधारमा शीर्ष दुईमा पुग्ने टोली बीच फाईनल प्रतिस्पर्धा हुने समाजका अध्यक्ष स्वागतमानसिंह भण्डारीले जानकारी दिए ।
राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता पुरस्कार विजेताले १ लाख ५० हजार १ सय ११ रुपैयाँ प्रदान गरिने उनले बताए । उपविजेता टोलीले १ लाख १ सय ११ रुपैयाँ प्राप्त गर्ने छन् । तेस्रो स्थानमा रहने टोलीले नगद ५० हजार १ सय ११ रुपैयाँ पाउने छन् ।
सर्वोत्कृष्ट खेलाडी र विधागत उत्कृष्ट खेलाडीलाई आकर्षक पुस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिता भदौ २९ गतेदेखि शुरु हुने छ । पोखरा–१९ लामाचौरस्थित इन्द्रैराज्यलक्ष्मी माविको खेल मैदानमा हुने प्रतियोगिताको फाईनल असोज १ गते हुने छ । नवआदर्श सामुदायिक विकास समाजले वर्षेनी हरितालिका तीजको अवसरमा महिला भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।
भलिबल प्रतियोगितासँगै समाजले मनोरन्जनको लागि तीज गीत र विद्यालयस्तरीय लोक नृत्य प्रतियोगितालाई समेत समावेश गरेको समाजका प्रथम उपाध्यक्ष प्रचारप्रसार समितिका संयोजक दिनेश भण्डारीले जानकारी दिए । ४ हजार दर्शक क्षमताको अस्थायी प्यारापिट निर्माण गरिने उल्लेख गरे ।





