
एसिया कप क्रिकेटः नेपाल र भारतबीचको खेल सुरु
पोखरा, १८ भदौ/ एसिया कपमा वर्षाले रोकिएको नेपाल र भारतबीचको खेल पुन सुरु भएको छ । श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ३७.५ ओभरमा ६ विकेट गुमाउँदै १ सय ७८ रन बनाउँदा बर्षाले खेल रोकिएको थियो । वर्षाको कारण खेल ४५ मिनेट रोकिन पुगेको थियो ।
नेपालका दीपेन्द्रसिंह ऐरी २० बलमा ३ चौकासहित २७ र सोमपाल कामी २० बलमा १ चौकासहित ११ रनबाट खेल्न सुरु गर्नेछन् । नेपालका ओपनर तथा विकेटकिपर आसिफ शेख ९७ बलमा ८ चौकासहित सर्वाधिक ५८ रन बनाउँदै आउट भएका थिए ।
ओपनर कुशल भुर्तेलले २५ बलमा ३ चौका र २ छक्कासहित ३८ रनमा आउट भए । पहिलो विकेटका लागि आसिफ शेख र कुशल भुर्तेलले ९।५ ओभरमा ६५ रनको साझेदारी गर्दै नेपाललाई सानदार सुरुवात दिलाएका थिए ।
नेपालका भीम सार्की ७, रोहित पौडेल ५ र कुशल मल्ल २ रनमा आउट भए । यी तीनै ब्याटर स्पिनर रविन्द्र जडेजाको बलमा आउट हुन पुगे । गुलशन झा ३५ बलमा ३ चौकासहित २३ रनमा आउट भए । भारतका रविन्द्र जडेजाले ९ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिएका छन् । मोहम्मद शिराजले ७ ओभरमा १ मेडनसहित ४६ रन खर्चेर २ विकेट लिएका छन् ।





