
सन्जयकान्त सिग्देल
पोखरा, ६ भदौ/ गण्डकी प्रादेशिक क्रिकेट संघको दोस्रो अधिवेशनले सन्जयकान्त सिग्देलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । बुधबार पोखरामा भएको अधिवेशनले कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष समेत रहेका सिग्देलको अध्यक्षतामा चार वर्षका लागि १२ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
समितिको उपाध्यक्षमा प्रकाश पौडेल (नवलपुर), सचिवमा सुमनराज कार्की (तनहुँ) र कोषाध्यक्षमा दिवाकर थापा (स्याङ्जा) रहेका छन् । यसैगरी सदस्यहरुमा देवेन्द्र प्रजू, ऋषिराम गौतम, फणिन्द्रबहादुर खड्का, धामनाथ सापकोटा, रेशमबहादुर केसी, विद्यादेवी भट्टराई, भोजराज बराल र सन्तोष शर्मा रहेका छन् ।
अध्यक्ष सिग्देलले सपथ ग्रहणपछि अबको चुनौति नै प्रादेशिक क्रिकेट मैदान बनाउने भएको बताए । उनले पोखरा रंगशालाभित्रको क्रिकेट मैदानलाई अन्तरराष्ट्रिय भेन्युको रुपमा विकास गर्न सरोकार निकायसँग पहल कदमी बढाउने बताए ।
उनले पोखरालाई काठमाडौंपछिको सौन्दर्यकै हिसाबले पनि अन्तरराष्ट्रिय क्रिकेट भेन्यु बनाउन नेपाल क्रिकेट संघले समेत प्रतिबद्धता जाहेर गरेको अवस्थामा प्रदेश सरकार तथा स्थानीय तहसँग समेत सहकार्य गर्ने प्रतिबद्धता जनाए ।





