
धनराज आचार्य
पोखरा, ३२ साउन
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरालाई पर्यटकीय राजधानीका रुपमा घोषणा गर्ने अभियानमा रहेको बताएका छन् । नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशको १५ औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशनलाई आज सम्बोधन गर्दै प्रमुख आचार्यले पोखरालाई पर्यटकीय राजधानीका रुपमा घोषणा गर्न नेपाल सरकारलाई आग्रह गरेको बताए ।
उनले नेपाल सरकारले बेवास्ता गरी आनाकानी गरेमा सन् २०२३ भित्र गण्डकी प्रदेश सरकारले भए पनि पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने बताए । पर्यटकीय रुपमा सुन्दर पोखरालाई पर्यटन राजधानी घोषणासँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालन गर्न भारतीय सरकार र नेपालका एयरलाइन्स कम्पनीसँग छलफल गरी अन्तर्राष्ट्रिय उडानलाई नियमितता दिनतर्फ तीनै तहका सरकार र यहाँका पर्यटन व्यवसायी लाग्नुपर्नेमा उनको जोड छ । उनले पोखरामा नयाँ नयाँ पर्यटकी पुर्वाधार निमार्ण गर्न लागेको बताए ।
पर्वतारोहण गर्ने स्वदेशी तथा विदेशी पर्यटक एक्लै नभइ ‘गाइड’को सहायतामा पर्वतारोहण र ट्रेकिङ गर्न अनिवार्य बनाइनुपर्नेमा उनको जोड छ ।
संस्थाका सल्लाहकार टीकाराम सापकोटाले पर्वतारोहण गर्ने पर्यटकलाई त्यस क्षेत्रका बारेमा बुझाउन नसक्दा उनीहरु गाइड बिना नै पदयात्रा गर्दा हिमाली क्षेत्रमा पर्यटक हराउनुका साथै मृत्यु समेत हुने गरेको बताए ।
नेपाल पर्वतारोहण सघंका संस्थापक अध्यक्ष हरिध्वज तुलाचनले पर्यटकलाई सहज रुपमा घुम्ने वातावरण बनाए उनीहरुले आफ्नो बसाईं थप लम्ब्याउनुका साथै अर्को पटकसमेत घुम्न आउन सक्ने बताए ।
संघका प्रदेश अध्यक्ष शेषकान्त शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पर्वतारोहणको क्षेत्रमा कलम चलाउने पोखराका पत्रकार दीपक परियारलाई सम्मान गरिएको हो । अधिवेशनले नयाँ कार्यसमिति समेत चयन गरेको छ ।





