
मदरल्याण्डका ३ विद्यार्थी कक्षा १२ को परीक्षामा नेपाल टप
पोखरा, ३२ साउन/ राष्ट्रिय परीक्षा बोर्डले मंगलबार सार्वजनिक गरेको कक्षा १२ को नतिजामा पोखराको मदरल्याण्ड माध्यमिक विद्यालयका ३ जना विद्यार्थीले ३.९६ जिपिए ल्याएका छन् । विज्ञान संकायतर्फ जीवन अधिकारी र कृतिका थापा र व्यवस्थापन संकायका राजेश पौडेलले सर्वाधिक ३.९६ जिपिए ल्याएका हुन् ।
जिपिएको आधारमा उनीहरु नेपाल टप नै भएको विद्यालयको दाबी छ । देशभरका अन्य अब्बल विद्यालयको नतिजा हेर्दा सर्वाधिक ३.९६ भन्दा बढी नदेखिएको प्लस टु इन्चार्ज नारायणप्रसाद आचार्यले बताए । काठमाडौंको ट्रिनिटी र बुटवलको अक्सफोर्डका विद्यार्थीले पनि समान ३.९६ जिपिए ल्याएको सार्वजनिक भएको छ ।
विद्यालयमा उचित शैक्षिक वातावरणसँगै शिक्षक, विद्यार्थी र अभिभावकको त्रिपक्षीय मेहनतले उत्कृष्ट नतिजा आएकोमा आफूलाई खुसी लागेको प्राचार्य नारायण बराल बताए । विज्ञान र व्यवस्थापन संकाय पढाउने मदरल्याण्डले समग्रमा नतिजा पनि उत्कृष्ट ल्याएको छ ।
मदरल्याण्डबाट विज्ञानमा २ सय २६ र व्यवस्थापन समूहमा १ सय ३० विद्यार्थी गरी ३ सय ५६ विद्यार्थीले परीक्षा दिएकामा ३ जना ३.९६ जिपिए साथ ५२ जनाले ३.६० देखि ४ जिपिए, १ सय ५७ जनाले ३.२० देखि ३.६० जिपिए, १ सय ९ जनाले २.८० देखि ३.२० जिपिए ल्याए । यस्तै, १८ जनाले २.४० देखि २.८० जिपिए ल्याएका छन् । गत वर्ष पनि मदरल्याण्डकै सम्राट ढुंगानाले विज्ञान संकायमा गण्डकी प्रदेश टपेका थिए ।
पोखरा ७, मासबारस्थित मदरल्याण्डले २०७९ सालको एसइईमा पनि कास्की टप गरेको छ । एसइईमा ५० जनाभन्दा बढी परीक्षार्थी सहभागी गराई प्राप्त औषत जिपिए नतिजा मूल्यांकन आधारमा यो विद्यालयले औषतमा सर्वाधिक जिपिए ल्याएको शिक्षा विकास तथा समन्वय इकाइ कास्कीले जनाएको छ । शिक्षा मन्त्रालयले २०७५ सालमा मददल्याण्डलाई मुलुकमै संस्थागततर्फ सर्वोत्कृष्ट घोषित गर्दै पुरस्कृत समेत गरेको थियो ।





