
एनवाईईएफ पोखराद्धारा युवा दिवसमा विद्यार्थी सगँ अन्तरक्रिया
पोखरा, २९ साउन/ अगस्ट १२ तारिख अर्थात अन्तर्राष्ट्रिय युवा दिवस । विश्वभर जस्तै नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाईएको छ । दिवसको अवसर पारेर पोखरामा नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ पोखरा) ले पोखराका युवा उद्यमीहरु तथा विभिन्न छात्र, छात्रा सँग अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । मञ्चले उनीहरुसँग नेपालमा युवा उद्यमीले व्यवसायमा भोग्नुपरेको चुनौती र अवसरहरूका बारेमा अन्तक्रिया गरेका हुन् ।
व्यक्ति, परिवार, समुदाय, राष्ट्र अनि सिङ्गो विश्वकै विकासमा युवाहरूको भूमिकाको महत्वलाई दर्शाउन हरेक वर्ष संसारभर अन्तर्राष्ट्रिय युवा दिवस मनाईने गरिन्छ । यो दिवसले अन्तर्राष्ट्रिय जगतलाई सकारात्मक दिशातर्फ लैजान युवा सहभागितालाई थप सक्रिय गर्ने नवप्रवर्तनात्मक उपाय तथा हुनसक्ने परिवर्तनलाई पनि उजागर गर्ने गर्छ । अन्तर्राष्ट्रिय युवा दिवसले यो वर्ष खाद्यान्न प्रणालीको रुपान्तरण र समग्र पृथ्वीको संरक्षणमा युवाहरूको सीप र कौशललाई महत्व दिएको छ ।
कार्यक्रममा एनवाईईएफ पोखराका अध्यक्ष निरन केसीले मञ्च द्धन्दकालीन अवस्थामा युवा व्यवसायीहरु पलायन भईरहँदा त्यसलाई रोक्नका लागि स्थापना भएको बताए । उनले युवा उद्यमी मञ्चले विशेषगरी युवाहरुलाई लक्षित गरेर उनीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न प्रकारका कार्यक्रमहरुको आयोजना गर्ने गरेको बताए । साथै उनले मञ्चले युवा उद्यमीहरूलाई एक्यबद्ध बनाएर देशको अर्थतन्त्र र नीतिहरूमा परिवर्तन ल्याउन सहयोग गर्दै आएको बताए ।
कार्यक्रममा युवा युद्यमी मञ्चका पुर्व केन्द्रिय अध्यक्ष तथा पालिखे ब्रदर्शका प्रबन्ध निर्देशक प्रकाश देव पालिखे, केसी ग्रुपका प्रबन्ध निर्देशक किरण केसी, विग स्प्लास वाटर पार्कका प्रबन्ध निर्देशक अमित राज मुल्मी तथा मिडटाउन ग्यालरीयाका प्रबन्ध निर्देशक निकेश द्वासँग अन्तक्रिया गरीएको थियो । अन्तक्रियामा मध्यस्थकर्ताका रुपमा गुरुकुल स्कुलका प्रीन्सिपल तथा स्वकॉन इंटरनेशनल हस्पिटलका निर्देशक मिलन केसीले गरेका थिए ।
अन्तक्रियामा उनीहरुले सरकारले बर्सेनि विभिन्न कार्यक्रम गरी युवा दिवस मनाउने गरे पनि युवाका मुद्दा कार्यान्वयनमा भने जहिल्यै समस्या देखिने गरेको बताएका छन् । युवा लक्षित गरी ल्याइएका विभिन्न कार्यक्रम कार्यान्वयन प्रभावकारी नहुँदा युवाका मुद्दा अपेक्षाकृत रूपमा सम्बोधन हुन नसकेको उनीहरूको गुनासो छ ।







