मालेपाटनमा भाद्र २९ देखि तीज विशेष कार्यक्रम हुने

-


     क्लिक गण्डकी     
     श्रावण २९ गते २०८० मा प्रकाशित


मालेपाटनमा भाद्र २९ देखि तीज विशेष कार्यक्रम हुने

मालेपाटनमा भाद्र २९ देखि तीज विशेष कार्यक्रम हुने

पोखरा, २९ साउन/ पोखरा ५ मालेपाटनमा रहेको सुर्यचन्द्र विकास समाजले यस वर्षपनि तीज विशेष कार्यक्रम गर्ने भएको छ । समाजले आउँदै गरेको हरितालिका तीजको अवसरमा भाद्र २९ गतेदेखि असोज १ गतेसम्म तीज गीत प्रतियोगिता र महिला खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको हो ।

तीज विशेष कार्यक्रम अन्तरगत खुला तीज गीत प्रतियोगिता, महिलाहरुको खेल कार्यक्रम लठ्ठो तान्ने, घैटो फुटाउने, म्युजिकल चियर र अन्तर माविस्तरिय छात्रा बास्केटबल प्रतियोगिता हुने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार तीज गीत प्रतियोगितामा कास्की जिल्ला भित्रका १८ टिम बिच प्रतिस्पर्धा हुनेछ । जसमा प्रथम हुने टिमले ४० हजार रुपैयाँ, दोस्रो हुनेले ३० हजार रुपैयाँ, तेस्रो हुनेले २० हजार र सान्त्वना हुने टिमले ७ हजार रुपैयाँ प्राप्त गर्नेछन् । साथै उत्कृष्ट भेषभुषा र उत्कृष्ट नृत्य विधामा पनि पुरस्कार राखिएको आयोजकले जानकारी दिएको छ ।

तीज गीत प्रतियोगिताका लागि जम्मा १८ टिम दर्ता गरिने र भाद्र २५ गतेसम्म दर्ता गरिसक्नुपर्ने टिम संकलन संयोजक कर्ण बहादुर भुवाजीले जानकारी दिए । त्यस्तै खेलकुदको माविस्तरिय छात्रा बास्केटबलतर्फ प्रथम हुने टिमलाई नगद रु ३० हजार, दोस्रो हुने टिमलाई २० हजार रुपैयाँ प्रदान गरिने खेदकुद संयोजक विमल श्रेष्ठले जानकारी दिए ।

तीज संस्कृतिको जगेर्ना गर्दै महिला दिदिबहिनीहरुको क्षमता अभिवृद्धि गराउनुका साथै खेल क्षेत्रमा प्रतिभा जन्माउन खेलकुदका कार्यक्रम पनि आयोजना गरिएको समाजका महासचिव हेमराज भण्डारीले बताए । समाजकी अध्यक्ष कमला गौतमको अध्यक्षतामा बनेको मुल समारोह आयोजक कमिटी अन्तरगत विभिन्न उपसमितिहरु निर्माण गरिएको भण्डारीले जानकारी दिए ।

तीज विशेष कार्यक्रमको अनुमानित खर्च ६ लाख ८० हजार रहेको र विभिन्न संघसंस्था, सामाजिक व्यक्तित्व, आमा समूह, युवा क्लब, टोलविकासहरुको सहयोगबाट कार्यक्रम सम्पन्न गरिने अध्यक्ष गौतमले बताइन् ।
प्रतियोगिताहरु पोखरा ५मा रहेको मालेपाटन खेल मैदानमा हुनेछ ।