
फिर्के खोलाको सिंमाकन खोज्दै पोखरा महानगरपालिका
पोखरा, ४ साउन/ पोखराको बीच भागबाट बग्ने फिर्के खोलाको पोखरा महानगरपालिकाले सिंमाकन शुरु गरेको छ । सिंमाकन पछि मापदण्डमा परेका संरचनाहरु हटाउने महानगरको तयारी छ । पोखरा महानगरपालिकाले पूर्व निर्धारित मापदण्ड कार्यान्वयन गर्न नसक्दा फिर्केमाथि संरचनाहरु बनेका छन् ।
महानगरले प्राविधिक बासुदेव पौडेलको संयोजकत्वमा समिति गठन गरेर खोलाको पुरानो आकार र खोला बगेको बाटो खोज्न लागेको बताइएको छ । निरन्तर अतिक्रमणको चपेटामा परेको फिर्केको वास्तविक आकार पत्ता लगाउन खोलाको भागमात्र छुट्याउन थालेको हो ।
पोखराका महानगरपालिका मेयर धनराज आचार्यले खोला सिंमाकनमा पिल्लन गाड्दै पहिलो चरणमा खोलाघर छुट्याउँछौं र सिमेन्टको स्तम्भ राख्ने बताए । उनले पहिलो चरणमा सिमाना यकिन गर्न र दोस्रो चरण असोजपछि मापदण्डअनुसार दायाँबायाँ क्लियर गर्ने बताए ।
फिर्के मापदण्ड ५ मिटर कायम गर्दा व्यक्तिगत घर, सरकारी कार्यालय, विद्यालय र सामाजिक संघसंस्था छन् । तत्कालीन रिपोर्टमा १३ सामाजिक संघसंस्था र ७ सरकारी कार्यालय सहित १ सय ९२ संरचनाहरु मापदण्डभित्रै पर्दछन् । मापदण्डमा परेका सबै संरचनाहरु भत्काउदै जाने एमाले पोखरा महानगरपालिका संसदीय दलका नेता राधिका शाही योगीले बताइन् । उनले सबै दल मिलेर मापदण्डविपरीतका संरचना क्लियर गर्ने बताइन् ।
महानगरले खोलाघर छुट्टाएपछि फिर्केको सौन्दर्यकरण गर्ने योजना बनाएको छ । एसियाली विकास बैंक (एडिबी) सहयोगमा फिर्केको दायाँबायाँ साइकल लेनसहितको फुटट्रेल, ठाउँठाउँमा चेकड्याम र लाइटिङको काम गर्ने योजना छ । हिउँदमा फिर्केमा पानी नहुँदा मर्दीबाट पानी ल्याएर बगाउने महानगरको योजना छ । यो योजना सम्पन्न गर्न ६५ करोड खर्च हुने अनुमान छ ।
तत्कलीन उपमहानगरपालिका हुँदा खोलाको मापदण्ड १ मिटर कायम गरेर सोही आधारमा नक्सापास सहित घर बनेका छन् । इन्जिनियरिङ अध्ययन संस्थाका तत्कालीन डिन भरत पहारीको संयोजकत्वमा गठित समितिले फिर्केसहित बुलौंदी र बगादी खोलाको मापदण्ड १० मिटर प्रस्ताव गरेको थियो ।
त्यसलाई घटाएर ५ मिटर बनाउने महानगरको तयारी छ । पोखरा १८ अँधेरी कुनाबाट बगेको फिर्के खोला वडा २, ४, ५, ६ र ७ हुँदै फेवातालमा मिसिएको छ । फिर्केको बाटो खोज्न भने २०३२ सालको नक्सालाई आधार मानिएको महानगरले जनाएको छ ।







