
फोटो यात्रामा पोखराका पत्रकारहरु
पोखरा, ३१ असार/ शनिबार बिहान सिमसिम पानी परेको थियो । सिमसिम पानी परेपनि पोखराका फोटो पत्रकारहरु क्यामेरा बोकेर डाँडा तीर लागे । पोखरा १७ ड्यामसाइडबाट पोखरा २२ शान्तिस्तुप तर्फ करिब ४० जनाको टोली फोटो खिच्दै पुगे । सिमसिम पानी पर्न पनि रोकियो । फोटो खिच्न निस्केकाहरु प्रकृति सँग रमाउदै फोटो खिच्दै थिए ।
यसको चाँजो पाँजो भने नेपाल फोटो पत्रकार संघ कास्की मिलाएको थियो । पोखरा ड्यामसाइडदेखि सुरु भएको फोटो यात्रा पोखरा २२ पुम्दीकोटमा पुगेर सकिएको थियो । ड्रिम सिटीको सहयोगमा भएको फोटो यात्रा भएको थियो । उनीहरूले फेवाताल, शान्ति स्तूप, पोखरा उपत्यका, शिवमन्दिर, चराचुरिङ्गि, गाँउले जनजिवन, बनजंगल, पशुपंक्षि लगायतको दृश्य क्यामेरामा कैद गरे ।
औपचारिक कार्यक्रममा संघका सल्लाहकार राम गुरुङ, फोटो पत्रकार संघ कास्कीका संस्थापक अध्यक्ष घनश्याम पौडेल, संघका पूर्व अध्यक्ष तथा सल्लाहकार कृष्णमणि बराल, पंक्षी समाज पोखराका अध्यक्ष मनशान्त घिमिरे लगाएतले फोटोको विभिधनाका बारेमा चर्चा गरेका थिए ।
योगेन्द्र श्रेष्ठको संयोजकत्वमा भएको कार्यक्रममा राम गुरुङले लेण्डस्केप फोटोग्राफीको महत्व र तरिकाबारे, घनस्याम पौडेलले पत्रकारिता र फोटोग्राफीको संगम फोटो पत्रकारिता बारे, कृष्णमणी बरालले वातावरण र त्यसको असर बारे र मनशान्त घिमिरेले बन्य जन्तु र पंक्षिहरुको तस्विर लिदा ध्यान दिनुपर्ने बारे चर्चा गरेका थिए ।
संघका अध्यक्ष दुर्गा प्रसाद पौडेलले फाटो वाकमा खिचिएका फोटोहरूलाई प्रदर्शनी गर्ने बताए । उनले आगामी दिनमा अझ राम्रो र व्यवस्थित तरिकाबाट फोटो यात्रा गरिने बताए ।





