‘कर्म–कर्ण आदिवासी जनजाती पत्रकारिता पुरस्कार’ बाट श्रेष्ठ सम्मानित

-


     क्लिक गण्डकी     
     असार २९ गते २०८० मा प्रकाशित


‘कर्म–कर्ण आदिवासी जनजाती पत्रकारिता पुरस्कार’ बाट श्रेष्ठ सम्मानित

‘कर्म–कर्ण आदिवासी जनजाती पत्रकारिता पुरस्कार’ बाट श्रेष्ठ सम्मानित

पोखरा, २९ असार/ यस वर्षको ‘कर्म–कर्ण आदिवासी जनजाती पत्रकारिता पुरस्कार–२०८०’ बाट पत्रकार दिपेन्द्र श्रेष्ठ सम्मानित हुनुभएको छ । तमु धिं नेपालकी संस्थापक अध्यक्ष कर्म तमुको ४३ औँ बैवाहिक वर्ष गाँठको अवसरमा आज तमु धिं, नयाँबजारको सभाहलमा प्रमुख अतिथि कास्की क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्य मन बहादुर गुरुङ र पुरस्कारदाता कर्म गुरुङद्धारा नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमान अध्यक्ष समेत रहनु भएका एभरेस्ट एफएमका प्रबन्धक निर्देशक श्रेष्ठलाई नगद रु १० हजार, फेटा, भाङ्ग्रा र सम्मानपत्रले सम्मान गर्नुभएको हो ।

पत्रकार हुमबहादुर गुरुङको संयोजकत्वमा एम.बि आस्था मगर, शान्ति गुरूङ, उदय अमात्य र दिल प्रसाद गुरुङको छनौट समितिले एभरेस्ट आवाज डटकमका सम्पादक एवं एभरेस्ट एमएमका बरिष्ठ प्रस्तोता श्रेष्ठलाई सिफारिस गरेको थियो ।
सम्मानित श्रेष्ठको छनोट प्रकृया तथा जिवनीको बारेमा छनोट समितिकी सदस्य शान्ति गुरुङले प्रकाश पार्नुभएको थियो ।

सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य मन बहादुर गुरुङले सम्मानित श्रेष्ठलाई बधाई दिदै यसले आफुलाई खुसी सँगै गम्भीर बनाएको बताउनुभयो । आदिवासी जनजातीको हकहितका निम्ति फोनिजले गरिरहेको कार्यको प्रशंसा गर्दै उहाँले हरेक जातजातीहरुको आफ्नो मौलिकतालाई जिवन्त राख्न पत्रकारिता क्षेत्रले बिशेष योगदान पुर्याउने गरेको उल्लेख गर्नुभयोे । गुरुङले पारदर्शि एवं निश्पक्षका साथ सूचनाको प्रभावकारितालाई बिशेष जोड दिन आग्रह गर्दै उहाँले भन्नुभयो, ‘सूचना केबल सूचनामा मात्र सिमित नरहोस्, त्यसले समाजमा सकरात्मक छाप छोड्न सफल हुनुपर्छ ।’

‘कर्म–कर्ण आदिवासी जनजाती पत्रकारिता पुरस्कार बाट सम्मानित दिपेन्द्र श्रेष्ठले बिगत २३ बर्षको लामो पत्रकारिता क्षेत्रमा पाएको पुरस्कार मध्ये यो घरभित्रको पुरस्कार जुन अमूल्य र अर्थपूर्ण रहेको बताउनुभयो । यस सम्मानले मिडियामा रहेर अझ केही गर्नुछ भन्ने भान गराएको उहाँले बताउनुभयो । सो अवसरमा श्रेष्ठले अन्नपूर्ण एफएमले बलियो जगको काम गरेको उल्लेख गर्दै आवाज विहिनको आवाज बनेर अघि बढीरहेको उल्लेख गर्नुभयो ।

आदिबासी जनजातीहरुको बिषयमा आवाज बुलन्द बनाउनुपर्छ भन्दै सुरुवात देखि नै संस्थाको बिकासमा लागि परेको स्मरण गर्दैै पत्रकारिता गर्ने पत्रकार बन्नको निम्ति सबै पत्रकारहरुलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘प्रश्न गर्न छोड्यौँ भने पत्रकारिता मर्छ तसर्थ प्रश्न गर्न नछोडौँ ।’

तमु धिं नेपालकी संस्थापक अध्यक्ष एवं पुरस्कारदाता कर्म तमुले स्थापना गरेको यस पुरस्कार आदिवासी जनजातीहरुको क्षेत्रमा कलम चलाइरहेका पत्रकारहरुको प्रोत्साहनको लागि स्थापना गरिएको बताउनुभयो । हरेक बर्ष प्रदान गरिने यस सम्मानबाट यस क्षेत्रमा अझ सशक्त ढंगले अघि बढ्न केही जिम्मेवारी पनि प्रदान गर्ने उहाँको भनाई थियो । यस पुरस्कारको व्यवस्थापन फोनिज कास्कीले गर्दै आएको छ ।

यसअघि, सो पुरस्कारबाट रीता गुरुङ, हर्क आले, शान्ति गुरुङ, तिलक पुन, राजबहादुर गुरुङ, मानबहादुर घर्तिमगर (एमबी आस्था), हुमबहादुर गुरुङ, उदयबहादुर अमात्य र रुद्रबहादुर श्रीस पुरस्कृत भइसक्नु भएको छ । नवगठित तमु संचारकर्मी संघ कास्की र तामाङ पत्रकार संघ कास्कीका कार्यसमिति सदस्यहरूलाई बधाई ज्ञापन समेत गरिएको सो कार्यक्रममा तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, नेवाःखल कास्कीका अध्यक्ष अशोक पालिखे लगायतले आ–आफ्नो भनाई राख्नुभएको थियो । फोनिज कास्कीका अध्यक्ष दिलप्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको संचालन सचिव सुशिल श्रेष्ठले गर्नुभएको थियो ।