
मुख्यमन्त्रीहरुले प्रधानमन्त्रीलाई १७ बुँदे साझापत्र बुझाए
पोखरा, १५ असार/ पोखरामा भेला भएका मुख्यमन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई १७ बुँदे माग राखेका छन् । अन्तर प्रदेश मुख्यमन्त्री बैठकले तयार पारेको साझा पत्र प्रधानमन्त्रीलाई बुझाएका छन् ।
उनीहरुले तत्काल प्रहरी समायोजन हुनुपर्ने, संघीय निजामती ऐन लगायतका कानुन ल्याउनुपर्ने, प्रदेश सरकारको कार्यालयहरु रहेका भवन र भवन परिसरको जग्गाको स्वामित्व प्रदेश सरकारको स्वामित्वमा आउनुपर्ने लगायतका माग राखेका छन् ।
साझा पत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले यसबारे संघीय सरकारमा छलफल हुने बताए । बैठकको समापन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संविधानमा नै तीन तहको सरकारको अधिकारको बाँडफाँटको व्यवस्था गरिएकाले सोही अनुसार गर्ने बताए ।
प्रधानमन्त्री दाहालले संघीयता कार्यान्वयनका लागि प्रशस्त प्रयास गर्ने बताए । उनले संघीयताबारे हामी सैद्धान्तिक, नीतिगत, कानुनी र व्यवहारिक विषयहरूमा समेत स्पष्ट पारे ।





