फेवातालको सिमसार क्षेत्र नपुर्न उच्च अदालतको आदेश

-


     क्लिक गण्डकी     
     जेठ १८ गते २०८० मा प्रकाशित


फेवाताल फाइलः तस्बिर

पोखरा, १८ जेठ/ उच्च अदालत पोखराले फेवातालको चार किल्लाभित्र सिमसार क्षेत्रमा नपुर्न, डोजर नचलाउन र कुनै निर्माण कार्य नगर्न अन्तरिम आदेश दिएको छ ।

उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्यको एकल इजलासले तालको चार किल्लाभित्र व्यक्तिगत वा संस्थागत निर्माण कार्य नगर्न र डोजर प्रयोग नगर्न अन्तरिम आदेश दिएको हो । अधिवक्ता मनोज घर्तीमगरले फेवाताल क्षेत्र अतिक्रमण रोक्न माग गर्दै उच्च अदालतमा रिट दिएका थिए ।

फेवातालको चार किल्लालाई निर्माण निषेध क्षेत्र घोषणा गरी सो क्षेत्रमा अनत्रिकृत रुपमा प्रवेश गर्ने, डोजर टिपरलाई नियन्त्रणमा लिएर चालकलाई कानुन बमोजिम कारबाही गर्न पनि अदालतले पोखरा महानगरपालिकाका नाममा अन्तरिम आदेश दिएको छ ।

अदालतले पूण्यप्रसाद पौडेल नेतृत्वमा गठित समितिले ०७७ फागुनमा तोकेको चार किल्लालाई नै फेवाताल क्षेत्र मानेको छ । उच्च अदालतले फेवाताल क्षेत्रको संरक्षणका लागि कम्तीमा प्रहरी निरीक्षकको नेतृत्वमा सुरक्षा समूह खटाउन र अनुगमन गर्न जिल्ला प्रहरी कार्यालय कास्कीलाई आदेश दिएको छ ।



Tags: