
श्यामकुमार अधिकारी
काठमाडौं, १० बैशाख/ कीर्तिपुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष श्यामकुमार अधिकारीको दुर्घटनामापरि मृत्यु भएको छ ।
सवारी दुर्घटनामा परेका अधिकारीको काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
बैशाख १ गते बिहान पौने १० बजेतिर कीर्तिपुर–४ पुष्पलाल पार्कस्थित ओरालोमा बा ८३ प ९४४८ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो ।
मेलामा पुगेका वडाध्यक्ष अधिकारीको खुट्टा एक्कासी बाँउडिएपछि उनका साथी मनोज बुढाथोकीले उनलाई मोटरसाइकलमा राखेर घर ल्याउन लागेका थिए ।
ओरालोमा ब्रेक नलागेपछि अनियन्त्रित भएर मोटरसाइकल ढुंगामा ठोक्किँदा दुबै जना घाइते भएका थिए । स्थानीयले उनीहरू दुबै जनालाई अचेत अवस्थामा फेला पारेका थिए । अधिकारी गत वर्ष भएको चुनावमा स्वतन्त्र उम्मेदवार बनेर वडाध्यक्ष निर्वाचित भएका थिए ।







