घरनजिकै गाडेको अवस्थामा महिलाको शव, श्रीमान फरार

-


     क्लिक गण्डकी     
     वैशाख ७ गते २०८० मा प्रकाशित


शव

बैशाख, ७ दाङ/ दाङमा एक महिलाको शव उनकै घरनजिक गाडेको अवस्थामा फेला परेको छ । बुधबार दिउँसो घोराही उपमहानगरपालिका वडा नम्बर १२ रतनपुरमा ४० वर्षीया शारदा केसीको शव फेला परेको हो ।

मृतक शारदाका श्रीमान ४१ वर्षीय मेघराज केसी भने फरार छन् । शारदाको हत्या मेघराजले नै गरेको आशंका प्रहरीको रहेको छ । शारदाको माइती पक्षले पनि बुधबार मेघराज नै हत्यामा संलग्न भएको बेहोरासहितको किटानी जाहेरी दिएको प्रहरीले जानकारी दिएको छ ।

घटना वैशाख १ गते मध्य राति भएको अनुमान छ । त्यो दिन शारदाकी छोरी र १५ वर्षीय कान्छा छोरा घोराहीको हेमन्तपुरस्थित मामाघर गएका थिए । जेठा छोरा भने रोजगारी सिलसिलामा भारतमा छन् ।

शारदाका छोराछोरी मामाघरबाट वैशाख ३ गते घर फर्किएका थिए । घर आएर बाबुआमालाई खोजे । फोन सम्पर्क गरे । तर दुवैको फोन स्विच अफ भनिरह्यो । त्यसपछि छोरी मामाघर नै फर्किइन् भने छोरा घरै बसे ।

मेघराजकी ७५ वर्षीया आमा (शारदाकी सासू) भने घरै थिइन् । तर उनले वैशाख १ गते राति आफू घरमा नभएको बयान प्रहरीलाई दिएकी छन् । उनले त्यो दिन राति झन्डै दुई सय मिटर नजिकै जेठा छोरा (मेघराजका दाइ) को घरमा खाना खान गएको र उतै बसेको बताइन् ।

श्रीमानले श्रीमतीको हत्या गरी घरनजिक खाडलमा गाडेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीको भनाई छ ।