म्याग्दी र मुस्ताङमा प्रवद्र्धन गर्दै पोखराका पर्यटन व्यवसायी महिला

-


     क्लिक गण्डकी     
     फागुन २८ गते २०७९ मा प्रकाशित


म्याग्दी र मुस्ताङमा प्रवद्र्धन गर्दै पोखराका पर्यटन व्यवसायी महिला

म्याग्दी र मुस्ताङमा प्रवद्र्धन गर्दै पोखराका पर्यटन व्यवसायी महिला

पोखरा, २८ फागुन/ अन्तराष्ट्रिय महिला दिवसका अवसरमा पर्यटन व्यवसायी महिला संघ नेपाल(टेवान)द्वारा आयोजित चार दिवशीय प्रवद्र्धनात्मक कार्यक्रम गरेर फर्किएको छ । नेपाल पर्यटन बोर्ड, पर्यटन मन्त्रालय गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको सहयोगमा गरिएको प्रवद्र्धनात्मक कार्यक्रममा पर्यटनसम्बद्ध संघ संस्थाका प्रतिनिधि, सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

कोरोना लगायतका विभिन्न कारणले सुस्ताएको पर्यटनलाई पूर्ववत् अवस्थामा फर्काउनका लागि चारदिने प्रवद्र्धन कार्यक्रम आयोजना गरिएको टेवानका अध्यक्ष कमला गिरीले जानकारी दिनुभयो । प्रवद्र्धनकै अवसरमा युवा तथा महिला उद्यमीलाई लक्षित मुस्ताङमा डिजिटल मार्केटिङ तालिम गरिएको र म्याग्दीको बेनीमा महिला दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागी बनेको उहाँले बताउनुभयो ।

प्रवद्र्धनकै क्रममा म्याग्दीको रुप्से झरना, गलेश्वरधाम, मुस्ताङको थकाली सामुदायिक होमस्टे ठिनी, ढुम्बा ताल, कागबेनी, मुक्तिनाथ हुँदै उपल्लो मुस्ताङको लोमन्थाङ, नेपाल चीनबीचको कोरला नाका आदिको स्थलगत अवलोकन गरिएको कार्यक्रम संयोजक शोभा अधिकारी पौडेलले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय अध्यक्ष आनन्दराज मुल्मी, पोखरा पर्यटन परिषद्का महासचिव सञ्जयकान्त सिग्देल, टेवानका पूर्व अध्यक्ष रेनु थापा लगायत पर्यटनसम्बद्ध व्यवसायी एवम् सञ्चारकर्मीको सहभागिता थियो । कार्यक्रमले म्याग्दी तथा मुस्ताङका पर्यटकीय गन्तव्यको प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुगेको अध्यक्ष गिरीले जानकारी दिनुभयो ।