पोखरामा पहिचान नभएका शवको आजदेखि व्यवस्थापन गरिदै

-


     क्लिक गण्डकी     
     भाद्र १६ गते २०८३ मा प्रकाशित


पोखरामा एउटै शवमा तीन जनाको दावी

पोखरामा एउटै शवमा तीन जनाको दावी

पोखरा, १६ भदौ /रसुवा बाढी पछि पोखरामा ल्याएर राखिएका पहिचान हुन नसकेका शव मंगलबारदेखि जमिनमुनि व्यवस्थापन गरिने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको सोमबार बसेको बैठकले शव कुहिँदै गएको, लामो समयसम्म सुरक्षित राख्न सम्भव नरहेको र दुर्गन्धका कारण स्वास्थ्य जोखिम बढ्न सक्ने भन्दै शव व्यवस्थापन गर्ने निर्णय गरेको हो ।

रसुवाको भोटेकोशी नदिमा आएको बाढीले बगाएर विभिन्न जिल्लामा पु¥याएका १०२ शव पोखरा ल्याइएको थियो । तीमध्ये गोरखाबाट ११, धादिङबाट २७, पूर्वी नवलपरासीबाट ४१ र तनहुँबाट २३ शव पोखरा ल्याइएको थियो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ९२ र मणिपाल शिक्षण अस्पतालमा ९ शव राखिएको छ । तीमध्ये सोमबार रातिसम्म १६ शव आफन्तले सनाखत गरी बुझेका छन् । बाँकी शव पोखरा महानगरपालिका–१६ स्थित सिँचाइको जग्गामा गाड्ने निर्णय भएको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले बताए ।

सबै शवको पोस्टमार्टम भैसकेको र डीएनए प्रोफाइलिङका लागि नमुना संकलन गरिसकिएको छ । मंगलबार शव व्यवस्थापन गर्नुअघिसम्म प्रहरीले सार्वजनिक गरेको विवरण हेरेर कसैले आफ्नो आफन्तको शव हुनसक्ने भन्दै सुरक्षित राखिदिन आग्रह गरेमा त्यस्ता शव तत्काल गाडिने छैनन् । अहिलेसम्म दुई परिवारले फोन गरेर शव सुरक्षित राखिदिन आग्रह गरेको एसपी कार्कीले जानकारी दिए ।

पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३ बमोजिम जिल्ला प्रहरी प्रमुखको संयोजकत्वमा गठन हुने शव व्यवस्थापन समितिले स्थानीय तहसँगको समन्वयमा शव गाड्नेछ । पोखरा महानगरपालिकाले शव गाड्न आवश्यक खाडल खन्न एक्स्काभेटर, तथा अन्य आवश्यक सामग्री उपलब्ध गराउनेछ ।

निर्देशिकाअनुसार डीएनए प्रोफाइलिङका लागि नमुना संकलन गरेपछि शवहरूलाई ४० सेन्टिमिटरको फरकमा १.५ मिटर गहिरो खाडलमा व्यवस्थापन गरिनेछ । प्रत्येक शवलाई हावा नछिर्ने प्लास्टिकको झोलामा संकेत नम्बर राखेर राखिनेछ र माथिबाट माटोले पुरिनेछ ।