
हेरम्बप्रसाद कोइराला
रवीन्द्र माकाजू
पोखराको पहिलो स्काउट गुरु हुन् – हेरम्बप्रसाद कोइराला । जसले २०१९ सालमा स्काउट तालिम लिएर पोखरामा स्काउटको स्थापना गरेका थिए । किन स्काउट मन प¥यो ? भन्ने प्रश्नको जवाफमा हेरम्ब सरको भनाइ छ– “पहिलो कारण स्काउटले ईश्वर र देशप्रति आस्था राख्न सिकाउँछ ।” हेरम्ब सरलाई स्काउट औधी मन पर्नुमा स्काउट सधैँ विश्वासयोग्य हुनु हो । हेरम्ब सरको विचारमा स्काउट ईश्वर भक्त हुन्छ, साथै समाजका लागि उपयोगि र सहयोगी पनि ।
सबैका मित्र स्काउटले सधैँ परस्परमा भातृत्व तथा भगिनित्व सम्बन्ध कायम राख्न सिकाउँछ । हेरम्बप्रसाद स्काउटको आदर्श बारे गम्किलो पारामा भन्छन् – सबै प्राणीप्रति दयालु हुनु स्काउटको अर्को विशेषता हो । हेरम्ब सरको विचारमा स्काउट सधैं अनुशासित र आज्ञाकारी हुन्छ । साथै मन, बचन र कर्मले पवित्र पनि ।
हेरम्ब सरको विचारमा ईश्वरप्रतिको आस्थाले व्यक्तिलाई शक्तिशाली र सक्षम बनाउँछ । व्यक्तिलाई चरित्रशील, नैतिकवान बनाउँछ । ईश्वर प्रति विश्वास भएन भने ऊ कसैसँग डराउँदैन र छाडा हुन्छ । स्काउटका सिद्धान्तहरू उपयोगी छन, महान छन् । व्यक्ति सधैं उपयोगी र सहयोगी बन्नुपर्छ समाजका लागि । मान्छेलाई महान बनाउने उच्च विचार र कुशल व्यवहारले हो । अरूलाई काम नलाग्ने, गुण नभएको, असहयोगी व्यक्तिको समाजमा कुनै मूल्य हुँदैन । व्यक्ति सधैँ समाजका लागि उपयोगी हुनुपर्दछ । व्यक्तिमा परोपकारी भावना हुनुपर्छ । सहयोगी व्यक्तिलाई मात्रै सबैले सहयोग गर्छ, स्नेह गर्छ । समाजमा सधै सहयोग र सद्भावको विकास हुनुपर्छ । यस्तो विचार बढ्नासाथ समाजमा भातृत्वभाव बढ्छ । भातृत्वभावमा वृद्धि हुनासाथ आपसी मनमुटाव, कलह झैझगडा, बैमनश्यता स्वतः नष्ट हुन्छ ।
स्काउटले सधै बिनम्रशील र नम्र हुन सिकाउँछ । हेरम्ब सरको विचारमा विनम्रशीलता नै शिक्षाको उपलब्धि हो, शिक्षाको प्रतिफल हो । मान्छे कति महान हो भन्ने कुरा स्वभावबाट झल्किन्छ । अहंकारी मान्छे कहिले पनि बिनम्र हुन जान्दैन । जति पढेपनि, जति धनी भएपनि बिनम्रशील छैन भने ऊ समाजमा सम्मानित हुन सक्दैन । हृदयमा दयाभाव जागेपछि स्वतः करूणाभाव उत्पन्न हुन्छ । हेरम्ब सरको स्पष्ट धारणा छ – हृदयमा दयाभाव नहुनाले नै कसैलाई क्षमा गर्न सक्दैन । हृदयमा करूणा भाव नहुनेहरूले अरूलाई माया, प्रेम गर्न जान्दैनन् ।
विस १९९६ साल चैत्र ७ गते जन्मनुभएका हेरम्ब पिता गंगाप्रसाद र माता धनेश्वरी देवीका द्धितीय पुत्ररत्न हुन् । हेरम्ब सानै उमेरदेखि हुने विरुवाको चिल्लो पात भनेझै पठन–पाठनमा हेरम्ब सरको मन जान्थ्यो । उनले पोखरामा भर्खरै मात्र खुलेको नेशनल हाइस्कुल र अमरसिंह हाईस्कुलमा पढ़ने मौका पाए । पछि हेरम्ब सरले पृथ्वीनारायण कलेजमा पढ्ने अवसर पाए । २०१९ सालमा उच्च शिक्षा हासिल गर्दागर्दै बाराही स्कूलमा पढाउन थाले ।
सधैँ खुशी देखिने, सबैसँग हाँस्ने, बोल्ने वेग्लै स्वभाव छ उनको । कसैसँग रिसाउँदैनन्, हेरम्ब सरको जीवन खुला आकाश जस्तै खुला र सेता पाना जस्तै सफा छ । परम पवित्र, पावन उनको आत्मा, हृदय सरलता र सहजताले भरिएको, कर्तव्य परायणता र ईमान्दारिताले गर्दा उनी महान छन्, चरित्रमा कुनै दाग लागेको छैन । निष्कलंक हेरम्ब चरित्रलाई जीवनको सर्वस्व थान्छन् । उनीभित्रको सेवाभाव कत्ति पनि कम छैन । हेरम्ब सरसँग समाजले सिक्नुपर्ने यही हो । समाज या राष्ट्रलाई उठाउने हो भने यस धर्तीमा धेरै हेरम्बप्रसाद जन्मनुपर्छ ।
हेरम्ब सर चाहन्छन्– सबैले स्काउटको सिद्धान्तलाई आत्मसात गरुँन् । स्काउट धर्म, वर्ग, जाति, वर्ण, राष्ट्र भन्दा माथिको मानवीय सिद्धान्त हो । यसलाई सबैले धारणा गर्ने हो भने सबै झैझगडा मनमुटाब मेटिन्छ । अहिले नेपाली समाजलाई आपसी एकता र सद्भाव चाहिएको छ । सहिष्णुता र समन्वय आवश्यक छ । एकले अर्कोलाई सहयोग गर्ने परिपाटीको खाँचो छ । स्काउटका १० नियम कण्ठै गर्दै उनी भन्छन् – ईश्वर, धर्म प्रतिको कर्तव्यपालना जरूरी छ । सबैले आफू र परिवार, समाज र राष्ट्रप्रति आफ्नो कर्तव्य पालना गर्नुपर्छ । व्यक्तिमा स्वयंसेवी भावना हनुपर्दछ । समाजसेवीहरू राजनैतिक रंग र विचारधाराबाट अलग हुनुपर्छ ।
उनका नेपालमा थुप्रै स्काउट शिक्षकहरू शिष्य छन् । स्व। रामबहादुर थापा, मोहन लिगल लगायत हेरम्ब सरका थुप्रै र प्रिय शिष्यहरू छन् । हेरम्ब सर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्काउटका सभा, सम्मेलनमा सहभागी भए – स्काउटका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका पुरस्कार पाएर उनले नेपालको नाम चम्काए ।
हेरम्ब सरले युगको मागलाई ध्यानमा राखी बाराही माध्यमिक विद्यालयलाई उच्च माविमा पु¥याए । उनको निरन्तर प्रयास स्वरूप विसं २०५४ साल जेष्ठ २ गते उच्च माध्यमिक शिक्षा परिषद्बाट उच्च माविका लागि अस्थायी स्वीकृति र २०५५ साल आषाढ १८ गते बाराही उच्च मा।वि।का लागि स्थायी स्वीकृति प्राप्त गरेको दिन हेरम्ब सरका लागि जीवनमा सबैभन्दा ठूलो खुशी प्राप्त भएको दिन थियो ।
अहिले उनी ८४ वर्ष पुगेका छन् । उनको मन अझै समाजसेवामा नै केन्द्रित भएको छ । ८४ पूजा केही समय पहिले गर्दा परिवारका सदस्यले हेरम्ब प्रसाद, पार्वती कोइराला शिक्षा प्रतिष्ठान २०७९ को विधिवत् स्थापना गरेका छन् ।





